काठमाडौँ, २८ असोज । चीनको उहान सहरमा यहि कात्तिक १ देखि १० गतेसम्म हुने सातौँ विश्व मिलिटरी खेलकूद प्रतियोगिता (सिआइएसएम)मा नेपाली सेनाले भाग लिने भएको छ । उक्त प्रतियोगिता अन्तरगत तेक्वान्दो गेम खेल्नको लागि तेक्वान्दो टोलि आज तेसतर्फ प्रस्थान गरेको छ ।
दुर्गा राज सिंह को नेतृत्वमा महिला ४६ केजी तौल समुहमा काजल श्रेष्ठ, ४९ केजि तौलसमुहमा युनिसा राई र ६२ केजि तौलसमुहमा नम्रता तुलाधरले प्रतिस्पर्धा गर्नुहुनेछ । पुरुष तर्फ ५८ केजि तौलसमुहमा सागर गुवाजु, ६३ केजि तौलसमुहमा ज्ञानेन्द्र हमाल, ८० केजि तौलसमुहमा रामदत्त भट्ट र ८७ केजि तौलसमुहमा सक्षम कार्कीले प्रतिस्पर्धा गर्नुहुनेछ ।
यस्तै टिम प्रशिक्षकको भूमिका निर्वाह गर्न दान बहादुर ऐरि र सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अन्तर्राष्ट्रिय रेफ्री दीपेन्द्र ढकाल पनि आजै त्यस तर्फ प्रस्थान गर्नुभएको छ । इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिलले प्रत्येक चार वर्षमा आयोजना गर्दै आएको यो प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक भाग लिन लागेको हो ।
ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा रहने यो प्रतियोगितामा विश्वका १०५ मुलुकका १० हजार ७१९ खेलाडीको सहभागिता रहने छ। प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ । उक्त प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछ । नेपालले आर्चरी, ब्याडमिण्टन, बक्सिङ, घोडचडी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एण्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथलन र सुटिङ गरि १३ वटा खेलामा मात्र सहभागीता जनाउने छ ।