काठमाडौँ, २७ असोज । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनपिङको दुई दिने राजकिय नेपाल भ्रमण नेपाल तथा चीनको लागि भएको नयाँ सम्झौताले ऐतिहासिक तथा युगिन अध्यायको प्रारम्भ भएको उल्लेख गर्नुभएको छ ।
आज आफ्नो सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उहाँले जनताको विकास प्रतिको चाहनालाई साकार पर्ने मात्र नभई भौतिक रुपमा साकार पार्ने थप आधार तयार भएको उल्लेख गर्नुभएको छ ।
उहाँको स्ट्याटस जस्ताको तस्तै:
सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति चिनपिङको दुई दिने राजकीय भ्रमण सम्पन्न भएको छ । यस औसरमा ऐतिहासिक महत्व राख्ने सहमतीहरू भएका छन् । यी सहमतीबाट-
– विगतमा कहिल्यै समस्या नपरेको दुई देश (नेपाल र चीन) विचको मित्रतालाई परिवर्तित सन्दर्भमा निरन्तरता दिने र त्यसलाई नयाँ उचाइ दिने काम भएको छ ।
– सहयोग सम्बन्धी नयाँ समझदारीले ऐतिहासिक र युगिन अध्याय प्रारम्भ भएकोछ ।
– वर्षौंदेखिका नेपाली जनताका मुर्छित सपनाहरूलाई जागृत बनाउने र भौतिक रूपमा साकार पार्ने थप आधार बनेकोछ ।
– विश्वव्यापी र क्षेत्रीयस्तरमा प्रारम्भ भएको सकारात्मक पहलसित नेपाल जोडिन पुगेको छ, त्यसैको अभिन्न अंग बन्न पुगेको छ ।
….. अब साहसिक पहलकदमी , व्यवस्थित योजना र एकतावद्ध प्रयत्नको आवश्यकता छ । हामी सबै यही दिशामा अगाडि बढ्नु आवश्यक छ ! यस सम्वन्धमा कसैले पनि अन्य तुच्छ टिकाटिप्पणी नगर्दा नै राम्रो !