काठमाडौँ, २७ असोज । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक पटक अनशन बसेका डा गोविन्द केसीले सरकारी सेवाबाट उमेरहदका कारण अनिवार्य अवकाश पाउने भएका छन् ।
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रुपमा उनी कार्यरत थिए । ६३ वर्षीया डा केसीले सोमबारदेखि अवकाश पाउने अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्का जानकारी दिएको छ ।
यस अघि डा केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक-फरक जन्ममिति भेटिएपछि विवादमा परेका थिए । डा केसीको नागरिकतामा जन्ममिति २७ असोज २०१३ रहेको छ । सोही आधारमा नै अस्पतालले सोमबारदेखि अवकाश पाउने छन् ।
डा केसीले चिकित्सा शिक्षामा सुधारको माग राखेर आन्दोलन गर्न थालेको सात वर्ष भएको छ । चारबुँदे माग राखेर ०६९ असार २१ मा उनी पहिलो पटक अनशन सुरु गरेका थिए । पछिल्लो पटक उनले १६ औं चरणको अनशन इलाममा बसेका थिए ।
अवकाश पाएपछि पनि डा केसीले चिकित्सा शिक्षा सुधारको आन्दोलनलाई जारी राख्ने संकेत दिएका छन् । डा केसी निकट स्रोतका अनुसार अवकाश पाएको दिन अर्थात् सोमबार बिहान शिक्षण अस्पतालको गणेशमान सिंह भवनमा पत्रकार सम्मेलन गर्दैछन्। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।