काठमाडौँ, २६ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने नेपाल भ्रमण पश्चात स्वदेश फर्कनुभएको छ ।
राजकीय सम्मानका साथ आज अपरान्ह २ः१५ बजे उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको बेइजिङ एयर चाइनाबाट प्रस्थान गर्नुभएको हो । उहाँलाई विदाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विशिष्ठ व्यक्तित्को सहभागिता रहेको थियो ।
राष्ट्रपति सीको भ्रमणले नेपालको इतिहासमा अत्याधिक ठूलो उपलब्धीको रुपमा लिइएको छ । उहाँले नेपाल भ्रमणका सवालमा नेपालको विकास र समृद्धिमा चीनले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
भ्रमणका समयमा नेपाल र चीनबीच सहमतिमा हस्ताक्षर कार्यक्रममा आज नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवद्र्धन, टोखा–छहरे सुरुङ मार्ग, चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जालगायतका क्षेत्रमा काम गर्ने सहमति भएको छ ।
काठमाडौँ महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ । कनेक्टिभिटीलाई प्राथमिकता दिएको सम्झौतामा शिक्षा, स्वास्थ्य, लगानी, व्यापार लगायतका विषय पनि जोडिएको छ । दुई देशबीच भएको सहमतिअनुसार अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीको लागि संयन्त्र निर्माण गरिने भएको छ । त्यस्तै, विपद् व्यवस्थापनमा मिलेर काम गर्ने, औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने सहमति भएको छ ।
वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ ।