काठमाडौँ, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको ‘नयाँ अर्थ’ रहेको बताएका छन ।
राष्ट्रपति सीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा चिनियाँ समाचार संस्था सिन्ह्वालाई अन्तर्वार्ता दिँदै उनले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणले द्वीपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने बताए ।
उनले भने, उहाँको नेपाल भ्रमणले नयाँ अर्थ राख्छ, सन् १९५५ मा स्थापना भएको नेपाल–चीनबीचको कूटनीतिक सम्बन्ध बलियो बन्दै गइरहेको छ । हामी दुवै देशहरू (नेपाल र चीन) राम्रो छिमेकी देश हौँ, पुराना साथी र असल दाजुभाई हौँ । हाम्रो एक अर्काप्रतिको विश्वास अटल छ ।’
प्रधानमन्त्री ओलीले चीनले विश्वमा शान्ति, समानता र न्याय स्थापना गर्न ठूलो भूमिका खेलेको उल्लेख गर्दै भने, ‘हामी आर्थिक विकासमा ध्यान केन्द्रित गरिरहेका छौं, ‘बेल्ट एण्ड रोड इनिसियटिभमार्फत हामीले रोड, रेल्वे र हवाईसेवामार्फत कनेक्टिभिटी बढाउन प्रयासरत छौं । यसबाट हाम्रो आर्थिक विकासका लागि नयाँ सम्भावनाहरू खोज्न मदत पुग्नेछ । ’