काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक वार्ता सकिएको छ ।
शनिबार दोस्रो दिन दुई नेताबीच तामिलनाडुको महाबलीपुरमस्थित कोव रिसोर्टमा करिव ४० मिनेट अनौपचारिक वार्ता भएको हो।
वार्तापछि मोदीले भने, ‘२१औं शताब्दीमा भारत र चीनले नयाँ उचाई हासिल गरिरहेका छन् । हामीले यो तय गरेका छौं कि मतभेदहरु हटाउने छौं र कुनै विवाद उत्पन्न हुने दिने छैनौं । चेन्नई समिटमा हामीले विश्व र द्वीपक्षीय मुद्दामा कुराकानी गर्यौं । यसले दुई देशबीच सहयोगको नयाँ यात्रा सुरु भएको छ ।’
चिनियाँ राष्ट्रपति सीले पनि तामिलनाडुमा पाएको स्वागतप्रति खुसी जनाए । ‘भारतको यो भ्रमण स्मरणीय रहनेछ । यो भ्रमणले भारत र चीनको बीचमा भावनात्मक सम्बन्ध निकै गहिरो भयो । हिजो र आज हामीले निकै राम्रो कुराकानी गर्यौं । हामीले एकअर्कासँग साथीको रुपमा कुराकानी गर्यौं ।’