काठमाडौँ, २७ भदौ । एक वर्षभन्दा बढी समयदेखि बन्द भएको मलेसियाको रोजगारी खुला भएको छ ।
नेपाली श्रमिकले मलेसियामा शून्य लागतमै जान पाउने भएका छन् भने विगतको तुलनामा सामाजिक सुरक्षासमेत प्रभावकारी हुनेछ ।
नेपाल र मलेसिया सरकारबीच यसअघि भएको द्विपक्षीय सम्झौताअनुरुप नेपाली श्रमिक मलेसियामा लैजाने गरी बिहीबार सहमति भएपछि रोजगारीको ढोका पुनः खुलेको हो । मलेसियामा तीन दिनसम्म दुई देशका प्राविधिक समितिबीच भएको बैठकले बिहीबार गरेको सहमतिले शून्य लागत र सामाजिक सुरक्षालाई निष्कर्षमा पुर्याएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरे नेतृत्वको नेपाली टोलीले तीन दिनकोे छलफलपछि नेपाली श्रमिक लैजानेबारे दुई देशबीच सहमति जुटाउन सफल भएको हो । यो समाचार आजको गोरखापत्रमा छापिएको छ ।






