काठमाडौँ, १३ साउन । नेपाल सरकारले शुरु गरेको ‘हरेक नेपालीको बैंक खाता’ अभियान अन्तरगत हालसम्म करिब ८८ हजार नेपाली बैंकिङ प्रणालीमा आएका छन् ।
‘हरेक नेपालीको बैंक खाता’ अभियानमा भने आकर्षण देखिएको छ । आर्थिक वर्ष २०७५र७६ को अन्त्यसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा २ करोड ८० लाखको हाराहारीमा खाता रहेको नेपाल राष्ट्र बैंकले बताएको छ । यस अवधिमा कर्जा खाता संख्या १४ लाख ५४ हजार पुगेको छ ।
यसैगरी असार मसान्तसम्ममा बैंकहरुले करिब ३ हजार २ सय वटा एटिएम राखिसकेका छन् । यस्तै, मोबाइल बैंकिङका ग्राहकहरुको संख्या ७० लाख, इन्टरनेट बैकिङका ग्राहकहरु ८ लाख ९३ हजार, जारी भएका डेबिट कार्डको संख्या ६२ लाख ८१ हजार तथा क्रेडिट कार्डको संख्या १ लाख १३ हजार पुगेको छ ।
सरकारले शुरु गरेको खाता खोलाउने अभियानको साढे ३ महिना पुरा भएको छ । बाणिज्य बैंकका सीईओहरुको छाता संगठन बैंकर एसोसिएसन नेपालका कार्यकारी अधिकृत अनिल शर्माका अनुसार असार मसान्तसम्म ८७ हजार ७ सय ९२ जनाले बैंक खाता खोलेका छन् ।
यस अभियान अन्तर्गत खाता नखोलेका र नयाँ खोल्न चाहनेहरुका लागि बैंकहरुले एक सय रुपैयाँ आफै हालिदिने गरेका छन् । हिजो खाता खोल्नका लागि न्युनतम रकम निश्चित सीमा तोकेर लिने गरेका बैंकहरुले खाता खोल्दा उल्टै सय रुपैयाँ जम्मा गरिदिने भएपछि यसमा आकर्षण बढेको छ ।







