भक्तपुर, १९ असार । प्राबिधिक तथा व्यावसायीक शिक्षा विद्यालय समाज नेपालको प्रथम राष्ट्रिय अधिवेशनले केन्द्रीय अध्यक्षमा पुनः पद्म कलेजका प्राचार्य राम हाडालाई चयन गरेको छ । हाडा यस अघि पनि समाजको अध्यक्ष नै रहनुभएको थियो ।
भक्तपुरमा आज भएको राष्ट्रिय अधिवेशनले उपाध्यक्षमा नन्दकुमारी महर्जन, देबेन्द्र खत्री र लक्ष्मी कुमार श्रेष्ठलाई चुनेको छ । समाजको सचिबमा ध्रुवराज गिरी, कोषाध्यक्षमा बिष्णु सिग्देल र सदस्यमा प्रदेश १ बाट दुर्गा दाहाल, २ बाट धिरेन्द्र चौधरी, ३ बाट ठाकुर प्रसाद उपाध्याय, ४ बाट रामप्रसाद सुवेदी, ५ बाट मोतिराम शर्मा, ६ बाट ढालबहादुर खत्री र प्रदेश ७ बाट गीता कुँवर रहेका छन् ।
भेलामा देशभरका प्राविधिक तथा व्यावसायिक शिक्षा पढाई हुने बिद्यालयका प्राचार्य वा प्रतिनिधी, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष वा प्रतिनिधी र सञ्जालका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।
यस अघि अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापाले राष्ट्रिय शिक्षा नीति बनिरहेको बर्तमान सन्दर्भमा संजालनको राष्ट्रिय सम्मेलनले ठोस र महत्वपूर्ण सुझाव सरकारलाई दिन सक्नुपर्ने बताउनुभयो । उहाँले सरकारले ऐनले देखाएको काम गर्न नसक्नु दुख भएको बताउँदै शिक्षा मन्त्री गिरीराजमणी पोखरेल बुँदै बुँदा घोषणा गर्ने बुँदे मन्त्री भएको बताउनुभयो ।
पाठ्यक्रम बिकास केन्द्रका महानिर्देशक डा. लेखनाथ पौडेलले प्राबिधिक तथा व्यावसायिक शिक्षा पढाई हुने विद्यालयले गुणस्तर कायम गर्नसक्नुपर्नेमा जोड दिंदै कक्षा ११/१२ को नयाँ पाठ्यक्रम २०७७ सालदेखि लागु हुने बताउनुभयो ।
समाजका अध्यक्ष हाडाले संघीय तथा स्थानीय तहमा प्राबिधिक शिक्षाको स्थान, कक्षा थप, ब्यबहारिक अभ्यास, नयाँ पाठ्यक्रम कार्यान्वयन, प्रअ, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा प्रशिक्षक तालिम, प्राप्त उपलब्धिको स्थायीत्व, बिद्यार्थीको उच्च शिक्षामा प्रवेश लगायतका एजेण्डामा छलफल र निर्णय भएको समाजका केन्द्रीय अध्यक्ष राम हाडाले बताउनुभयो ।
सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय महासचिब हंस बहादुर शाही, समाजका सचिब ध्रुवराज गिरी, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, ईश्वरी प्रसाद अधिकारी लगायतले अहिले उत्पादन भैरहेका जनशक्ति बिदेश पलायन भैरहेको तर देशमा भने काम गर्ने युवाको अभाब हुनुले पनि पाठ्यक्रममा सुधारको आवश्यकता देखिएको बताउनुभयो ।
सरकारले २०७० सालबाट एसएसआरपीको आधारमा कक्षा ९ देखि १२ सम्मलाई माध्यामिक शिक्षाको आधार मान्दै छनौटमा परेका विद्यालयमा सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, इलेक्ट्रोलिक्स ईन्जिनियरिङ्ग तथा कृषि सम्वन्धी प्राविधिक शिक्षा संचालनमा ल्याएको थियो । हाल देशभरका ४ सय ३४ बिद्यालयमा प्राविधिक शिक्षा प्राबिधिक तथा व्यावसायीक शिक्षा पढाई भैरहेको समाजले जनाएको छ ।






