काठमाडौँ, ३२ जेठ । धान कसरी फल्छ, चामल कसरी बन्छ, चिउरा केबाट बन्छ ? कितावमा लेखेको कुरा मात्रै पढेका विद्यार्थीहरु शनिबार पहिलोचोटी धानको बीउ छर्न सूर्यविनायक मन्दीर छेउ खेतमा पुगे ।
ट्रयाक सुट र जुत्ता लगाएर पुगेका उनीहरु जुत्ता फुकालेर साधारण किसानझैं खेत खन्न कोदालो, कोदाली, माटोको डल्ला फुटाउन डल्लेठो (मुंग्रो) लिएर खेत खन्न उत्रिएका थिए ।
बेबिलोन नेशनल स्कुल शान्तिनगर, काठमाडौंको ७ कक्षाका ५३ जना स्काउट विद्यार्थी धानको वीउ छर्न सूर्यविनायकस्थित स्काउट गुरु शीवकुमार त्वायना र सीतालक्ष्मी देशेमरुको खेतमा पुगेका थिए ।
विद्यालयका कार्यक्रम संयोजक टिकाप्रसाद सुवेदीको नेतृत्वमा गएको उक्त टोलीमा अभिभावक संयोजक कमला केसी, माद्यमिक संयोजक दिपेश ठकुरी, स्काउट गुरु बलराम प्यासी, विषयगत शिक्षक नितेश यादव र गोविन्द तामाङ्ग र सूचना प्रविधि शिक्षक सरोज चौधरीका साथमा ७ कक्षाका सबै विद्यार्थी सहभागी थिए ।
त्यहाँ पुगेर उनीहरुले खेतमा झार उखेल्नुको साथै खेत खनेर ब्याड बनाई धानको वीउ राखेका थिए । यसका लागि उनीहरुलाई स्काउट गुरु शीवकुमार त्वायनाले सघाएका थिए ।
उनीहरुले शनिबार छरेको वीउ ठुलो भएपछि उनीहरु आफैं सो खेतमा गएर धान रोप्ने विद्यालयका कार्यक्रम संयोजक टिकाप्रसाद सुवेदीले बताए । धानको वीउ राखेपछि उनीहरुले खेतमै दही चिउरा र अचार खाएर रमाइलो गरेका थिए ।
व्यवसायीक शिक्षा अन्तर्गत हरेक वर्ष सात कक्षाका विद्यार्थीलाई खेतमै लगेर खेतीकिसानीबारे व्यवहारिक ज्ञान दिइने बेबिलोन नेशनल स्कुलका संस्थापक प्रिन्सिपल राजु राईले बताए ।
आफ्नो पसीना खर्चेर उव्जनी गरेको अन्नको विद्यार्थीलाई माया लाग्ने र उनीहरुले भविष्यमा अनावश्यक रुपमा खाना पनि नफ्याक्ने प्रिन्सिपल राईको दावी छ ।