अछाम, ३२ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले अब पार्टीले नयाँ गति लिने बताएका छन ।
शनिबार बिहान अछाम जिल्ला कमिटीका सदस्यलाई सपथ गराएसँगै ९ वटै जिल्लाका सदस्यलाई शपथ ग्रहण कार्य सकिएको बताउदै उनले अब पार्टीले नयाँ गति लिने बताए ।
नेकपा सुदूरपश्चिम ईन्चार्ज समेत रहेका नेता रावलले सुदूरपश्चिमका सबै जिल्लामा जिल्ला कमिटी सदस्यलाई शपथको काम सम्पन्न भएको बताएका छन् ।
प्रेस संगठन अछामका टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेता रावलले सुदूरपश्चिमका विभिन्न योजना तथा कार्यक्रममा आवश्यक बजेट विनियोजनका लागि आफूहरुले निरन्तर आवाज उठाइरहेको बताए । प्रदेश सरकारले पनि बजेट विनियोजन गर्दा सबै जिल्लामा आवश्यकता तथा समानताका आधारमा बजेट विनियोजन गरिनुपर्नेमा जोड दिए ।
‘काँग्रेसले जे भन्यो त्यसको उल्टो गर्यो, जसले देश पछाडि गयो, हामीले त्यसो गर्नु हुँदैन’, रावलले भने । नेपालको संविधान, नेकपाको घोषणापत्र आदीले प्रेस स्वतन्त्रताको हनन गर्ने कुरा कल्पना समेत नगरेको भन्दै नेता रावलले हाल संसदमा प्रस्तुत मिडिया काउन्सिल विधेयकले पनि त्यसो नगर्ने दाबी गरे ।