काठमाडौँ, २६ जेठ । षट्कोण आकारको सादा कागजमा कुनै विषयलाई चित्रमा उतार्ने प्रतियोेगिता अर्थात हेक्जागन चित्रकला प्रतियोगिता शनिबार ग्रामर पब्लिक स्कुल कोटेश्वरमा आयोजना गरिएको छ ।

‘द २०१९ इन्टरडिपेन्डेन्स हेक्जागन प्रोजेक्ट १८’ नाम दिइएको चित्रकला प्रतियोगितामा आयोजक ग्रामर पब्लिक स्कुल, ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल, भिमेश्वर एकेडेमी, स्वर्णिम तारा स्कुल लगायत काठमाडौं जिल्लाका २२ वटा विद्यालयका ६६ जना विद्यार्थीले भाग लिएका थिए । काठमाडौं जिल्लामा आयोजना गरिएको यो प्रतियोगिता छैठौं भएतापनि बुटबलमा भने २००६ देखि नै शुरु भएको बताइन्छ ।

‘ट्रान्सफर्मिङ्ग कन्फिल्क्ट’ अर्थात द्वन्द्वपछिको परिवर्तन शिर्षकमा प्रतियोगी विद्यार्थीहरुको ६६ वटा चित्रकला ग्रामर पब्लिक स्कुलले अमेरिकाको पेन्सिलभेनिया राज्यको स्क्रयान्टनमा प्रदर्शनीको लागि पठाउने ग्रामर पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल राजकुमार राईले बताए ।

सेप्टेम्बर महिनाभरी पेन्सिलभेनिया राज्यको स्क्रयान्टनमा चित्रकला प्रर्दशन गरिने र त्यहिँबाट विजयी छनौट गरिने हेक्जागनको नेपालस्थित अन्तराष्ट्रिय संयोजक एवम् हेक्जागन सहजकर्ता सविन शिवाकोटीले बताए । अमेरिकामा नेपाल लगायत, अमेरिका, अष्ट्रेलिया, इजिप्ट, भारत,क्यानाडा लगायतका मुलुकका विद्यार्थीहरुका चित्र प्रर्दशन गरिने छ भने विजयी विद्यार्थीले नगद सहित प्रमाणपत्र र सहभागीले प्रमाणपत्र पाउने पनि संयोजक शिवाकोटीले बताए ।

ग्रामर फाउण्डेशनका प्रवन्ध निर्देशक यादव वान्तवा राईले उद्घाटन गरेको चित्रकला प्रतियोगिताका बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकुमार राई, संस्थापक प्रिन्सिपल राजकुमार राई, फिजम संस्थाका उपाध्यक्ष एवम् भिमेश्वर एकेडेमीका संस्थापक प्रिन्सिपल अमृतकुमार खड्का, पुष्पकला गुरुंग तथा शिक्षिका देउती राईले प्रकाश पारेका थिए । हेक्जागन चित्रकला प्रतियोगिताको संयोजन चित्रकलाका गुरु सुमन सुब्बाले गरेका थिए ।






