नीजि विद्यालय छोडेर नयाँ विद्यार्थी आउने क्रम जारी
ललितपुर, १८ जेठ । बलराम प्यासी । ललितपुर महानगरक्षेत्रको ६५ वर्ष पुरानो चर्चित सामुदायीक विद्यालय श्रमिक शान्ति माद्यमिक विद्यालय च्यासलमा चालु शैक्षिक सत्रमा विद्यार्थीको चाप थेगिनसक्नु भएपछि विद्यालयले ५ देखि ९ कक्षासम्म नयाँ विद्यार्थी भर्ना बन्द गरेको छ । जसका कारण नयाँ भर्ना नपाएर दैनिक ५ देखि ७ जना विद्यार्थी फिर्ता हुन थालेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक सानुलाल ब्यञ्जनकारका अनुसार चालु शैक्षिक सत्रमा मात्रै २ सय नयाँ विद्यार्थी थपिईसकेकोले ५ देखि ९ कक्षासम्म नयाँ भर्ना बन्द गरिएको हो । ‘नर्सरीदेखि ४ कक्षासम्म भने विद्यार्थी भर्नाका लाग केही सीटमात्रै बाँकी छ, नत्र माथिल्लो कक्षामा भर्ना नपाएर दिनहुँ नयाँ विद्यार्थी फिर्ता भईराखेका छन’—प्रधानाध्यापक ब्यञ्जनकारले भने ।
प्रधानाध्यापक ब्यञ्जनकारका अनुसार ५ देखि ८ सम्म दुई/दुईवटा र ९ र १० मा ३/३ वटा सेक्सन राख्दा पनि चालु शैक्षिक सत्रमा नयाँ विद्यार्थीलाई भर्ना लिन सकिएन । नयाँ विद्यार्थी भर्ना खुल्ने वितिक्कै प्रवेश परिक्षामा सहभागी भई उतिर्ण भएर जो जो भर्ना भए, तिनीहरुले भाग्यमानी बने, ‘ढिलो आउनेले भर्ना पाएनन’— उनले भने । ‘हामीसंग कक्षा कोठा र शिक्षकको संख्या प्रशस्त भएको भए नयाँ विद्यार्र्थी फिर्ता हुँदैनथे’—प्रधानाध्यपक व्यञ्जनकारले भने ।

प्रधानाध्यापक ब्यञ्जनकारका अनुसार गत चैतमा सम्पन्न माध्यमिक शिक्षा परिक्षा (एसईई)मा सो विद्यालयबाट ९० जना विद्यार्थी सहभागी भएपछि पनि विद्यालयमा ८५० पुराना विद्यार्थी रहेकोमा चालु शैक्षिक सत्रमा मात्रै २०० जना नयाँ विद्यार्थी थपिएका हुन ।
विद्यालयका सहायक प्रधानाध्यापक पवन विक्रम कार्कीका अनुसार अब केही दिन नर्सरीदेखि ४ कक्षासम्म मात्र नयाँ भर्ना लिइनेछ । हरेक कक्षामा ३०÷३० जना विद्यार्थी राख्ने क्षमता रहेको नर्सरीदेखि ४ कक्षामा केही सीटमात्रै खाली रहेको छ । ‘तल्लो कक्षामा भन्दा माथिल्लो कक्षामा विद्यार्थीको चाप थेगिनसक्नु आयो’— सहायक प्रधानाध्यापक कार्कीले गर्वका साथ भने । विद्यालयले हरेकवर्ष नयाँ विद्यार्थी भर्नाको लागि घरदैलो कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

पछिल्लो समयमा विद्यालयको शैक्षिक प्रगती, योग्य र तालीमप्राप्त शिक्षक, माद्यमिक शिक्षा परिक्षा (एसईई)मा राम्रो परिक्षाफल, स्मार्टबोर्ड, आधुनिक मल्टिमिडिया र अंग्रेजी माध्यमबाट विद्यार्थीको पठनपाठन, पढाईको साथै अतिरिक्त कृयाकलाप, ललितपुर महानगरपालिका र विभिन्न दाताको निरन्तर भौतिक तथा शैक्षिक सहयोग, भूकम्प प्रतिरोधी भवन, अनुशासनमा कडाई लगायतको कारणले विद्यालयमा विद्यार्थीको चाप बढेको श्रमिक शान्ति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुकृष्ण व्यञ्जनकारले बताए ।
अध्यक्ष ब्यञ्जनकारका अनुसार विद्यालयले प्रदान गर्दै आएका विभिन्न नाउँका उत्कृष्ट र जेहेन्दार छात्रवृत्तिका कारण पनि विद्यार्थीे आकर्षण बढेको हो । विभिन्न नीजि विद्यालय छोडेर सो विद्यालयमा भर्नाको लागि विद्यार्थी आएतापनि विद्यालयले उनीहरुको प्रवेश परिक्षा लिएर मात्रै भर्ना गर्ने गरेको अध्यक्ष ब्यञ्जनकारले बताए ।

आफ्नो विद्यालयमा विद्यार्थीको चाप बढ्नुको अर्काे कारण चाँहि विद्यालयप्रति स्थानीय अभिभावकको चासो र विश्वास रहेको प्रधानाध्यापक सानुलाल व्यञ्जनकारको दावी छ । ‘हाम्रो विद्यालय ललितपुर नगर क्षेत्रकै उत्कृष्ट सामुदायीक विद्यालय भएको कुरा बेलाबेलामा टोलवासी र सर्वसाधारणबाट सुन्न पाउनु गर्वको विषय हो ।’ — उनले भने—‘हाम्रा कमी कमजोरीलाई पनि अभिभावकहरुले सुधार्नका लागि बेलाबेलामा सुझाव दिनुहुन्छ, जुन हाम्रा लागि मार्गदर्शक हो ।’








