एजेन्सी, १३ जेठ । स्पेनमा एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
बार्सिलोना बस्दै आएका २२ वर्षीय स्याङ्जा विरूवा गाउँपालिका–६, चिन्नेबास स्थायी घर भएका पुजन कोइरालाको शनिबार राति दुर्घटनामा परी मृत्यु भएको हो ।
बार्सिलोनास्थित ग्रानभिया र बाल्मेस जक्सनमा साइकलमा सवार कोइरालालाई नगरपालिकाको फोहोर बोक्ने सवारीले ठक्कर दीदा उनको घटनास्थलमै मृत्यु भएको गुआर्डिया उर्बाना प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अध्ययनका लागि २ वर्षअघि जर्मनी आएका कोइराला स्थायी बसोबासका लागि कागजी प्रक्रिया सहज हुने देखेर ७ महिनाअघि स्पेन आएका थिए ।
नआरएनए स्पेनले विज्ञप्ति जारी गर्दै कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छ । संघका अध्यक्ष चिन्तामणि सापकोटाले शव नेपाल पठाउन कानूनी प्रक्रियासँगै आर्थिक संकलनको काम सुरु भएको जनाएका छन ।






