धनगढी, ११ जेठ । आरवीए नवौँ अन्तराष्ट्रिय गोजुरियो कराते प्रतियोगिता २०७६ को प्रतियोगितामा नेपाली टिम च्याम्पीयन भएको छ ।
राष्ट्रिय गोजुरियो कराते दो संघ, सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा आज धनगढीमा सम्पन्न भएको उक्त प्रतियोगितामा नेपालको एपिएफ प्रथम हुँदै ७५ हजार पुरस्कार हात पार्न सफल भयो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जेष्ठ ९ गते विहिबार एक समारोहकाबीच उद्घाटन गरको कार्यक्रम आज सम्पन्न भएको हो ।
प्रतियोगितामा प्रदेश ७ दोस्रो हुँदा भारतिय टिम तेस्रो स्थानमा रह्यो । त्यस्तै, भुटानको टिम चौथो स्थानमा चित्त बुझाउन बाध्य बन्यो । प्रतियोगितामा सार्क राष्ट्र अन्तरगतका ६ देशका ७ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान, अफगानस्तान लगायत देशहरुका खेलाडीहरु एवम् प्रशिक्षकहरु सहभागी रहेका थिए ।

प्रतियोगितामा एपिएफ क्लवबाट ५० केजीको तौल समूहमा वीरबहादुर वाइबा, ६० केजीमा वीजेन्द्र सुनार, ६७ केजीमा सुवास घताने, ७५ केजीमा मोहमद शेख आलम, ८४ केजीमा सुशील पौडेल र ८४ केजी माथिमा कृष्ण विष्टले उत्कृट खेलको नमूना प्रस्तुत गर्दै स्वर्ण पदक जित्न सफल भएका थिए । त्यस्तै, महिला तर्फ ४५ केजीमा वर्षा बुढा मगर, ५० केजीमा सविना श्रेष्ठ, ५५ केजीमा सोनी राई र ६० केजीमा शान्ता श्रेष्ठले स्वर्ण पदक हात पार्न सफल भएकी थिइन् ।
प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरि तीन विधामा क्रमशः ४० स्वर्ण, ४० रजत र ८० कास्य गरी १ सय ६० पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले ७५ हजार पुरस्कार पाउँदा दोस्रो हुने टिमले ५० हजार पुरस्कारमा चित्त बुझाउन बाध्य बन्यो । त्यस्तै, टिम कुमुतेमा विजेतालाई ५१ हजार, दोस्रोलाई ३१ हजार, तृतीयलाई २१ हजार प्रदान गरिएको थियो ।






