काठमाडौं, ८ जेठ । ‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिवद्धता’ भन्ने नाराका साथ एघारौं राष्ट्रिय खाद्य सुरक्षा दिवस २०७६ मनाउने सन्र्दभमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकारीहरु राजधानीका विभिन्न नीजि र सामुदायीक विद्यालयमा पुगेर विद्यार्थीहरुलाई खाद्य सुरक्षाबारे प्रशिक्षण दिईराखेका छन् ।

विभागका वरिष्ठ खाद्य अनुसन्धानहरुले नयाँबानेश्वरको काव्य स्कुल, शान्तिनगरको बेबिलोन नेशनल स्कुल, मिनभवनको सनसाइन स्कुल, कोटेश्वरको ग्रामर पब्लिक स्कुल, सुविधानगर तिनकुनेको ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुल, भक्तपुर बालकोटको मेरिगोल्ड इंगलिस बोर्डिंग स्कुल, बालकोटकै महेन्द्र शान्ति माविलगायत झण्डै दुई दर्जन विद्यालयमा विद्यालय खाद्य सुरक्षाबारे जनचेतनामूलक सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन ।

विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकारीहरु उपसचिव विमल दाहाल तथा अधिकृतहरु डा.सन्तोष ढकाल, दिग्विजय मिश्र, आनन्दकुमार चालिसे, रुपेन्द्र रावल र अनुसन्धान प्राविधिक सहायक मनिषा चापागाईले खाद्य सुरक्षा तथा पोषण, खाद्य तथा अखाद्य वस्तुहरु, सन्तुलित भोजनको बारेमा जानकारी गराउँदै जंक फुड खाँदा हुनसक्ने शारिरीक र मानसिक समस्या लगायतका विषयमा कक्षा लिएका थिए ।

पछिल्लो समयमा घरको स्वच्छ, ताजा र स्वस्थकर खानेकुराप्रति वालवालिका र किशोर किशोरीमात्रै नभई युवापुस्ता समेतले चासो दिन छोडी बजारको अस्वस्थकर र अखाद्य खानेकुराप्रति आकर्षण बढ्न थालेपछि खाद्यप्रविधि तथा गुण नियन्त्रण अधिकारीहरु विद्यालयमै गएर विद्यार्थीहरुलाई “नो जंक फुड” भनेर ज्ञान बाँड्न थालेका हुन ।

विभागको खाद्य अनुसन्धान अधिकृतको टोलीले विद्यार्थीलाई खाद्य सुरक्षा र पोषणबारे जानकारी दिँदै अखाद्य वस्तु अर्थात जंक फुडले स्वास्थ्यमा अल्पकालिन र दीर्घकालीन रुपमा पार्ने असरका बारेमा जानकारी गराउँदै विद्यार्थीलाई सचेत गराउँदै आएका हुन ।
कृषि तथा पशुपंछि विकास मन्त्रालय अन्तर्गतको खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले गतवर्षदेखि विद्यालय खाद्य सुरक्षा कार्यक्रम बनाएर विद्यालयमै गई विद्यार्थीहरुलाई खाद्य सुरक्षा र पोषणबारे जानकारी दिन थालेको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत (उपसचिव) विमल दाहालले बताए ।






