काठमाडौँ, १ जेठ । चीनको महत्त्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा नेपालको संलग्नताप्रति अमेरिकाले चासो देखाएको छ । दक्षिण तथा मध्य एसियाली मामिलाबारे कार्यवाहक अमेरिकी उपविदेशमन्त्री डेभिड रान्जले बीआरआईबारे आफूले अध्ययन गरेको र परिणाम आशाजनक फेला नपरेको उल्लेख गर्दै नेपाल यसबारे सचेत हुनुपर्ने बताए ।
नेपाल भ्रमणमा आएका उनले मंगलबार सञ्चारकर्मीसँग भने, ‘बीआरआईमाथि हामीले गरेको अध्ययन तपाईंहरूले पनि हेर्न सक्नु हुन्छ । चीनले गरेको सहयोगले कसैको हित भएको खासै देखिँदैन ।’ राष्ट्रपति विद्यादेवी भण्डारी बीआरआईको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर नेपाल फर्केको दुई सातामै यसबारे अमेरिकाले चासो देखाउँदै आफूले गरेको अध्ययन प्रतिवेदनबारे बोलेको हो ।
चीनले बीआरआईमार्फत विश्वव्यापी प्रभाव जमाउँदै गएपछि अमेरिकाले यसको विरोध गर्न थालेको टिप्पणी आइरहेका बेला नेपालको यसमा संलग्नतामाथि उच्च तहका अधिकारीहरूबाट यसअघि पनि प्रश्न उठाइएको थियो। हालै जारी अमेरिकी प्रतिवेदनमा बीआरआईमा संलग्न देशहरूमा भ्रष्टाचार बढेको, अधिनायकवाद हावी हुँदै गएको र राज्य नियन्त्रित अर्थतन्त्रले जरो गाडेको उल्लेख छ ।
नेपालमा पनि त्यो अवस्था नआओस् भन्ने अमेरिकाको सद्भाव रहेको उनको भनाइ थियो । ‘कुनै पनि लगानी भित्र्याउनुअघि आफ्नो हितमा छ कि छैन र त्यसले पारदर्शिता प्रवर्द्धन गर्छ कि गर्दैन भनेर आफ्ना मित्रहरूले सोच्नुपर्छ भन्ने अमेरिकी धारणा छ,’ रान्जले भने, ‘बीआरआईले नेपालमा भित्र्याउने योजनामा पनि यी प्रश्न गरिनुपर्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।






