काठमाडौँ, २५ बैशाख । नवलपरासीको मध्यविन्दु नगरपालिका-२ नन्दपुरका लोकल कुखुरामा बर्डफ्लु भेटिएको छ ।
बुधबार बिहान स्थानीय पिताम्बर महतोले पालेका लोकल कुखुरामा बर्डफ्लु देखिएपछि नष्ट गरिएको हो । महतोले पालेका १ सय ५० लोकल कुखुरामध्ये ७५ प्रतिशत बढी मरेपछि उनले केन्द्रीय पंक्षी प्रयोगशाला चितवनमा नमूना परीक्षणका लागि लगेका थिए ।
उक्त नमूनालाई केन्द्रीय भेटेरिनरी प्रयोगशाला काठमाडौँले समेत प्रमाणित गरेपछि मन्त्रीस्तरको निर्णयअनुसार कुखुरा र पंक्षीजन्य वस्तुलाई नष्ट गरिएको सोही नगरपालिका पशु विकास शाखाले जनाएको छ।
बर्डफ्लु नियन्त्रण गर्नका लागि नन्दपुर गाउँको १ किमि क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो । त्यस क्रममा १ सय ८१ गोटा लोकल कुखुरा, ६५ गोटा हाँस, दाना, अण्डा र कुखुराका सुली नष्ट गरिएको हो ।






