काठमाडौँ, २१ बैशाख । आफ्नो दुःखको ख्याल नगरी नौ महिनासम्म गर्भमा राखेर जन्मदिने आमा र छोराछोरीको भविष्यप्रति हरदम चिन्ता लिने बाबुलाई वृद्धाश्रममा लगेर राख्ने पछिल्लो पुस्ताको गलत व्यवहारप्रति नेपाल विद्यापीठ नयाँबानेश्वरका विद्यार्थीले चित्त दुखाएका छन ।
मातातिर्थ औंशीको अवसरमा विद्यालयले विद्यार्थीहरुलाई सहभागी गराई विद्यार्थीका ममीहरुको साथ मनाएको ममीको मुख हेर्ने कार्यक्रमको अवसरमा विद्यार्थीहरुले आमाबाबुप्रति छोराछोरीको गलत व्यवहारप्रति चित्त दुखाएका हुन ।

कक्षा ९ का विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा सबै ममीहरुको अगाडी कक्षा १० का विद्यार्थी आयुष कर्णले ‘आमा’ कविता वाचन गरेका थिए भने विद्यालयका प्रिन्सिपल विनोद तिमल्सिनाले विद्यालयमा मातातिर्थ औंशी मनाउनुको महत्वबारे चर्चा गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले केक काटेर ममीहरुलाई खुवाएका थिए भने शुभकामना कार्ड र उपहार दिएका थिए ।
विद्यालयमै ममीहरुलाई निम्त्याएर छोराछोरीलाई ममीको महत्वबारे बताउँदा विद्यार्थीले पनि ममीप्रतिको आफ्नो कर्तव्य र जिम्मेवारी बुझ्ने प्रिन्सिपल तिमल्सिनाले धारणा व्यक्त गरे ।







