काठमाडौँ, ३ वैशाख । आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई एक सय ५० रनले हराएको छ ।
मंगलबार मलेसियाको सिंलगार टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर दुई बलमा दुई सय २९ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले । ३३ रनमा दुई विकेट गुमाएको नेपालका पारीलाई भीम सार्की र कप्तान रोहित पाैडेलले उकासेका थिए ।
जसमा रोहितले ७५ रन बनाए भने भीमले ३९ रनको योगदान गरे । यस्तै अभिशेख बस्नेतले १५ रन बनाए । नेपालको पारीको अन्तिममा रित गौतमले विस्फोटक ब्याटिङ गर्दै ४१ रन बनाउँदा नेपालले बलियो लक्ष्य दियो ।
छैटौँ विकेटका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीबीच ९२ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितिमा पुगेको हो ।
२० रनमा पहिलो विकेट गुमाएको ओमानले २८ रन बनाउँदा चार विकेट खेर फालेको थियो । बलिङमा नेपालका पवन शरार्फले तीन तथा प्रतिश जिसी र सूर्य तामाङले दुई-दुई विकेट लिए ।






