काठमाडौँ, २ वैशाख । एन्जल लर्ड एकेडेमी हाईस्कुलले शैक्षिक पुरस्कार वितरण तथा सम्मान कार्यक्रम २०७५ आयोजना गरेको छ । प्याब्सनका केन्द्रीय उपाध्यक्ष गोपाल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शैक्षिक वर्ष २०७५ को वार्षिक परिक्षामा सहभागीमध्ये उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै महत्वपूर्ण शैक्षिक योग्यता हासिल गरि हाल विभिन्न क्षेत्रमा कार्यरत पाँचजना पूर्वविद्यार्थीहरुलाई समेत सम्मान गरियो ।
जुनियर म्युजिक क्लबका भाईबहिनीहरुले गाएको राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्न म्युजिक क्लबकै भाईबहिनीहरुले सामुहिक स्वागत गीत प्रस्तुत गरेका थिए भने डान्स क्लबका विद्यार्थीहरुले आकर्षक स्वागत नृत्य प्रदर्शन गरे ।
जुनियर कक्षाको सहभागितामा विशेष साँस्कृतिक प्रस्तुतिहरु सहित आयोजित कार्यक्रममा नर्सरीका भाईबहिनीहरुले “बाजेलाई लाईदिने“ बोलको गीतमा बाल नृत्य प्रस्तुत गरे भने एलकेजी र युकेजीका विद्यार्थीहरुले “बालपनको उमेर“ गीतमा आफ्नो नृत्य प्रस्तुत गरे ।

कार्यक्रममा कक्षा दुईकी विपिशा मोक्तानले “चौबन्दीमा पटुकी“ बोलको गीत गाएर उपस्थित सबैको मन जितिन । त्यसैगरी कक्षा ३ कि कृति श्रेष्ठले “कालीपारी बोल’’को गीत प्रस्तुत गर्दा दर्शकदिर्घाबाट तालीको गडगडाहट सुनिएको थियो ।
उनीहरुका गीतमा गायन प्रशिक्षक राजन खतिवडाले हार्मो्नियम, संगीत प्रशिक्षक माधव त्रिपाठीले सारंगी, टेकेन्द्र चेम्जोङले किबोर्ड, पुजन त्रिपाठीले गितार, बादल शंकरले बाँसुरी, उज्ज्वल सुवेदी र प्रवीण योन्जनले मादल र रिसन व्यन्जनकारले क्याजन बजाएर सहयोग गरेका थिए ।
त्यसैगरी कक्षा १ का भाईबहिनीहरुले “पानी कुवाको“ गीतमा नृत्य प्रस्तुत गरे भने कक्षा २ र ३ का विद्यार्थीहरुले “सानीसानी नानी“ गीतमा सामुहिक नाच देखाए । सिर्सया हेगु बोलको नेवारी गीत आफ्नो नृत्य प्रस्तुत गर्दै कक्षा ४ र ५ का विद्यार्थीहरुले सबैको मन जिते । एन्जल डान्सिङ आईडल(२०७३ का विजेता स्मृति राईले समेत आफ्नो नृत्य प्रस्तुत गरेकी थिईन । कक्षा २ कि पृन्सा राणाले “हे कान्छ’’ गीत गाईन भने म्युजिक क्लबका भाईबहिनीहरु आज हामी साना साना गीत गाए ।

कार्यक्रमका प्रमुख अतिथी आचार्यले संस्कारयुक्त शिक्षा आजको आवश्यक रहेको चर्चा गर्दै आजका बालबालिकाहरुहरुलाई सहि शिक्षा दिन सके मात्र देशको भविष्य उज्जवल हुने बताउनुभयो ।
“यस क्षेत्रमा एन्जल लर्ड एकेडेमीले जुन स्तर र गतिविधिका साथ अघि बढी रहेको छ त्यो प्रशंसनीय भएको बताउँदै उहाँले “एन्जल लर्ड एकेडेमी विद्यालयहरुको हुलमा केवल एउटा संख्या थपिन मात्र आएको होईन । यो केही नयाँ काम गरेर छुट्टै पहिचान बनाउन लागि रहेको मैले देखेको छु ।“ विद्यालयले केही समय अघि आयोजना गरेको बृहत विज्ञान प्रदर्शनीको स्मरण गराउदै उहाँले सो स्तरको कार्यक्रम हरेक विद्यालयका लागि नमुना हुनसक्ने छ, उहाँले भन्नुभयो ।

विद्यालय प्रमुख टंक लिम्बु विद्यालयले शैक्षिकसत्र भरी गरेका कार्यहरुको संक्षिप्त स्मरण गराउदै विद्यालय नयाँ शैक्षिक बर्षमा नयाँ अनुभुत हुने कार्यक्रमका साथ अघि बढ्ने बताउनु भयो । उहाँले विद्यालयले गुणस्तरीय र जीवन उपयोगी शिक्षा दिने कुरामा सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । त्यसका लागि सिक्ने र सिकाउने प्रक्रियामा भएका प्रविधिहरुमा थप आधुनिकीकरण गरेर जाने साथै बाल केन्द्रित तथा सहभागितामुलक विधीहरुलाई प्राथमिकतामा राखिने बाउनुभयो । “अब परम्परा शिक्षा शिक्षणमा मात्र सिमित रहने हो भने विद्यार्थी अघिअघी शिक्षकहरु चाहिँ पछि पछि हुनेछन ।“ लिम्बुले भन्नुभयो । नियमित पढनपाठन बाहेक विद्यार्थीहरुको रुचि अनुसारका अतिरिक्त क्रियाकलापहरु थप प्रभावितकारी रुपमा संचालन गर्दै बालबालिका व्यक्तित्वहरुको विकासमा विद्यालयले अधिकतम प्रयास गर्नेछ, उहाँले थप्नुभयो ।
कार्यक्रममा विद्यालयका पुर्व विद्यार्थीहरुलाई सम्म्मान गरिएको थियो । महत्त्वपूर्ण शैक्षिक योग्यता हासिल गरि हाल विभिन्न क्षेत्रमा कार्यरत पाँच पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको हो। जसमा डा. नवीन श्रेष्ठ, सि.ए मिलन बस्नेत, प्राचार्य विनोद तिमिल्सिना, ईन्जिनियर लाबुनहाङ चेम्जोङ र डा. विदुर खतिवडा रहेका थिए । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथी आचार्यले सम्मान पत्र प्रदान गर्नु भएको थियो भने विद्यालय प्रमुख टंक लिम्बुले माला र विशेष अतिथीद्वय डिनका सचिव तथा काठमाण्डौ प्याब्सनका सह-सचिव सुर्यबहादुर भण्डारी र न्यु होलीक्रस स्कुलका रोशन दिवस लिम्बुले टीका लगाई दिनुभएको थियो । सम्मानित विद्यार्थीहरुका तर्फबाट प्राचार्य तिमिल्सिनाले आफ्नो कवितावाचन गर्नका साथै संक्षिप्त धारणा राख्नुभएको थियो ।

त्यसै गरि शैक्षिक बर्ष २०७५ को बार्षिक परिक्षामा सहभागीहरु मध्ये प्रत्येक कक्षाका ३ उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । तीन चरणमा प्रदान गरिएको पुरस्कार वितरण अन्तर्गत पहिलो चरणमा कक्षा नर्सरी देखि युकेजी, दोस्रो चरणमा १ देखि ५ र अन्तिममा ६ देखि ९ सम्मका विद्यार्थीहरु ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सोही अवसरमा शैक्षिक बर्ष २०७५ सालको एसइइ परिक्षामा सहभागी ५१ जना विद्यार्थीहरुलाई विद्यालयका तर्फबाट मायाको चियो प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद केसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन टेकेन्द्रराज चेम्जोङले गर्नुभएको थियो ।






