काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको दिगो विकासका लागि विदेशी सहयोग, सहकार्य र लगानी आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल जाइका एलमुनाई एशोसिएशनद्वारा आज यहाँ आयोजित ४५औँ वार्षिक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल राजनीतिक सङ्घर्ष पूरा गरी विकासको बाटामा लागेकाले विकास प्रयासमा मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाको सहयोग आवश्यक भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीलाई विकास चाहिएको छ, हाम्रो एक्लो प्रयासले मात्र पर्याप्त हुँदैन, त्यसैले मित्र राष्ट्र र सहयोगी सङ्घसंस्थाका प्रयासलाई विकासमा जोडेर अघि बढाउनुपर्छ ।”
नेपालको विकासका विदेशी लगानी र सहयोग जुटाउन सरकारले निकट भविष्यमै काठमाडौँमा अन्तरराष्ट्रिय लगानी सम्मेलन गर्न लागेको जानकारी दिनुभयो ।
दोस्रो विश्वयुद्धताका जापानका हिरोसिमा र नागासाकी शहरमा भएको दुःखद घटना विश्वका लागि अन्तिम दृष्टान्त बनोस् र इतिहासमा फेरि नदोहोरियोस् भन्ने कामना गर्दै उहाँले भन्नुभयो, “हामी सदैव शान्तिको पक्षमा छौंँ, जापानले शहर खरानी भएको दुःखद् ठाउँबाट उठेर फेरि एउटा असाधारण विकास गरेको छ, हामी जापानबाट प्रविधि हस्तान्तरण चाहन्छौँ ।”
कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले जापानमा अध्ययन र तालीमका क्रममा सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग गर्न एशोसिएशनका सदस्यलाई आग्रह गर्नुभयो ।
एशोसिएशनका अध्यक्ष डा रामचन्द्र भुसालले जापानले नेपालको शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा छ दशकदेखि निरन्तर गरेको सहयोगका लागि धन्यवाद दिँदै जापानले हजारौँ नेपालीलाई अध्ययन र तालीम अवसर प्रदान गरेर नेपालको जनशक्ति विकासमा योगदान गरेको बताउनुभयो ।