काठमाडौ २३ फाल्गुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले मिडियाले राम्रो काम गर्नेलाई प्रोत्साहन तथा गलत काम गर्नेलाई खबरदारी गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गोबिन्दप्रसाद चौलागाँइले सञ्चालन गर्दै आउनुभएको रौतहट टाइम्स साप्ताहिक २१ औं वर्षमा प्रवेश गरेको अवसरमा बुधवार राजधानीमा भएको कार्यक्रममा बोल्दै नेता नेपालले रौतहट टाइम्स साप्ताहिक एक जिल्लाको नाममा प्रकाशन हुँदै आएपनि यो मुलुककै लागि महत्वपूर्ण सञ्चारमाध्यम भएको बताउनुभयो । उहाँले यस पत्रिकाले राम्रा काम गर्ने व्यक्तित्वहरुलाई प्रोत्साह गर्ने र गलत काम गर्नेहरुलाई खबरदारी गर्दै आएका बताउँदै भन्नुभयो हामी सबैले राम्रो काम गर्नेलाई प्रोत्साह गर्नुपर्छ तर खराब काम गर्नेलाई खबरदारी गरेमात्र व्यक्ति, समाज हुँदै समग्र मुलुक नै परिवर्तन हुने बताउनुभयो ।
कार्यक्रममा संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पंडित र संघीय संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारी पूर्वअर्थ मन्त्री शंकर प्रसाद कोइराला, पूर्वमन्त्री कमल चौलागाईं पूर्वमन्त्री बन्सिधर मिश्र लगायतका ब्याक्तित्वको विशिष्ट आतिथ्यतामा वार्षिकोत्सव समारोह तथा ‘समृद्ध नेपाल निर्माणमा सञ्चारकर्मीहरुले खेल्नुपर्ने भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वरिष्ठ नेता नेपालको जन्मदिनको अवसर पारी केक काटेर उहाँलाई शुभकामना समेत दिइएको थियो । कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरु पासाङ तेम्बा लामा, धर्मेन्द्र झा र दुर्गादत्त ढाकाल सम्मानित समेत हुनुभएको छ ।






