काठमाण्डौ, २३ फागुन । सरकारले संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।
बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमाकुमारी अर्यालद्वारा संघीय संरचना बमोजिमको नेपालको प्रशासनिक नक्सा सार्वजनिक गर्नु भएको हो
सार्वजनिक गरिएको नक्सामा सात वटै प्रदेश, त्यसको सीमाना, ७७ वटा जिल्ला र त्यसको सिमाना, अन्तराष्ट्रिय विमानस्थल, मुख्य–मुख्य नदी, खोला र ताल मात्रै उल्लेख गरिएको छ ।
मन्त्री अर्यालले उक्त नक्सा सबभन्दा पहिला सिंंहदरबारमा हस्तान्तरण गर्ने र त्यसपछि नेपालको प्रशासनिक नक्सालाई प्रदेश र स्थानीय तहमा पनि क्रमशः हस्तान्तरण गर्दै लैजाने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको योजना रहेको बताउनु भयो ।
मन्त्री अर्यालले प्रदेश स्तरको र ७ सय ५३ वटै स्थानीय तहको नक्सा पनि छिट्टै सार्वजनिक गर्ने घोषणा गर्नुभयो । २०१४ सालमा स्थापना भएको नापी विभागले २०३२ सालदेखि नेपालको नक्सा तयार पारी सार्वजनिक गर्न सुरु गरेको हो ।