काठमाडौँ, १४ माघ । नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेसँगै एक दिवसीय सिरिजको जित हात पारेको छ ।
यससँगै तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो ।
यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । कप्तान खड्काले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । छैटौं विकेटको रुपमा आउट हुनुपूर्व उनले ११५ रन बनाए । उनले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरे ।
नेपालको स्कोर १९ रन हुँदा ओपनर विनोद भण्डारी ९ रनमा आउट भए । तर, पारसले उपकप्तान मल्लसँग दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दै नेपालको पारी उकासे । ज्ञानेन्द्र ३१ रनमा आउट भए ।
पाँचौं विकेटका लागि पारस र रोहितकुमार पौडेलले ५४ रनको साझेदारी गरे । रोहित १६ रनमा आउट भए । आशिफ शेखसँग ३२ रनको साझेदारी गरेका पारस ३८.५ ओभरमा ११५ रनमा आउट भए तर, जितको आधार बनाइसकेका थिए । आरिफ र सोमपालले त्यसलाई पूर्णता दिए । सोमपाल २६ र आरिफ २१ रनमा नटआउट रहे ।






