काठमाडौँ, १४ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनसनरत प्राध्यापक डा. गोविन्द केसीको चिकित्सा शिक्षा विधेयकसम्बन्धी मागमा अब छलफल आवश्यक नभएको बताएउदै जननिर्वाचित संसदले गरेको निर्णय नै अन्तिम भएको बताउनुभएको छ ।
सोमबार प्रतिपक्षी सांसदको नाराबाजीका बीच राष्ट्रियसभामा विधेयक प्रस्तुत भएपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री पोखरेलले केसीले जननिर्वाचित संसदले गरेको निर्णयलाई स्वीकार गर्नुपर्ने बताउनुभयो । उहाँले भननुभयो, ‘अघिल्लो पटक नै सम्झौता हुँदा संसदको बाटोबाट अगाडि बढ्छ भनिसकेपछि, अनसनमा बसेर संसदलाई नै प्रभावित गर्छु भन्ने ढङ्गले सोच्नुहुँदैन ।’
उहाँले भन्नुभयो, ‘वार्ता गर्छौं, छलफल गर्छौं, अरुले पनि उहाँलाई सहमतिमा ल्याउन भूमिका खेल्नुपर्छ’, पोखरेलले भने, ‘कतिपय नागरिक समाजका अगुवाहरुले आग्रह गर्नुभएको छ । त्यसलाई पनि ध्यान दिइराखेका छौं । नमिल्ने कुराहरुमा हठलाई साथ नदिऔं । सत्यलाई ठीक कुरालाई साथ दिऔं ।’





