काठमाडौं, ३ माघ । संसदीय सुनुवाइ समितिले थाइल्यान्डका लागि प्रस्तावित राजदूत गणेश प्रसाद ढकाल र फ्रान्सका लागि प्रस्तावित राजदुत दीपक अधिकारीको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
बिहीबार बसेको समिति बैठकले उनीहरुको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन । समितिको गत पुस ६ र ९ गते बसेको मन्त्रिपरिषद बैठकले अधिकारी र ढकालसहित विभिन्न देशका लागि ५ जना राजदूतको नाम सिफारिस गरेको थियो ।
बैठकमा फ्रान्सका लागि प्रस्तावित राजदूत अधिकारीले दुई मुलुकबीचको कुटनीतिक सम्बन्धलाई अझै प्रगाढ बनाउन आफू लागिपर्ने प्रतिबद्धता जनाएका थिए । उनले मुलुकको समृद्धिका लागि आर्थिक कूटनीतिलाई पनि आफूले प्राथमिकता दिने स्पष्ट पारे ।
थाईल्याण्डका लागि प्रस्तावित राजदूत ढकालले मुलुकमा लगानी भित्र्याउने विषयलाई आफूले उच्च प्राथमिकता दिने बताए । उनले थाईल्याण्ड नेपालको विकास साझेदार मुलुक भएकाले थप लगानीको सम्भावनाको खोजी गर्ने योजना पनि समितिलाई जानकारी गराए ।
समितिको अर्का बैठक आगामी माघ ८ गते मंगलबार बिहान ११ बजे बोलाइएको छ ।






