कपिलवस्तु, २८ पौष । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अहिले नेपालमा रहेको बेरोजगारीको अन्तयका लागि आधुनिक कृषी पेशालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ ।
कपिलवस्तुको चन्द्रौटामा आज नेकपाको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री खनालले प्रविधियुक्त आधुनिक प्रविधिद्वारा खेती गरिएमा खाडी मुलुकमा जाने बेरोजगार युवा स्वदेशमा काम पाउने र देशको आर्थिक विकासमा पनि मद्दत पुग्ने बताउनुभयो ।
मन्त्री खनालले कपिलवस्तुको कृषियोग्य जमीनको लागि जिल्लाको विजयनगर गाउँपालिकामा कृषि अनुसन्धान केन्द्र स्थापना गरी कृषि व्यवस्थापन गर्न लागिएको जानकारी गराउनुभयो ।
मन्त्री खनालले दुई वर्षमा माछा, कुखुरा, गहुँ, फलफूल लगायतका उत्पादनमा आयात प्रतिस्थापन गर्ने गरी सरकारले काम गरिरहेको छ भन्नुभयो । भारतलगायत तेस्रो मुलुकबाट नेपालजस्तो कृषिमा निर्भर मुलुकले चामललगायत माछा, मासु, तरकारी, फलफूल आयात गर्नु दुःखद् भएकाले कृषि क्षेत्रलाई व्यवसायीकरण र किसानलाई आत्मनिर्भर बनाउनु आवश्यक रहेकामा मन्त्री खनालको जोड दिनुभयो ।







