पाल्पा, २७ पौष । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले देशमा रहेको सात सय ५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना गर्न लागेको बताउनुभएको छ ।
पाल्पाको रामपुरमा आज दोस्रो रामपुर महोत्सवको उद्घाटन गर्दै मन्त्री विष्टले गरीब युवालाई रोजगारभत्ता दिन सरकारले प्रक्रिया अघि बढाएको जानकारी गराउनुभयो । नेपाल सरकारले सकेसम्म रोजगारी तथा नसके पनि वेरोजगार भत्ता दिने बताउनुभयो । उहाँले सरकारले सामाजिक सुरक्षा कार्यक्रमले देशमा नयाँ युगको शुरुवात भएको बताउँदै देशमा रहेको योग्य, दक्ष तथा क्षमतावान् युवालाई विदेशीनु पर्ने वातावरणको अन्त्य गरेरै छोड्ने उद्घोष गर्नुभएको छ ।
लाखौं युवाहरु रोजगारीको खोजीमा आफ्नो श्रमलाई अन्य मूलकमा बेचिरहनु परेको भन्दै यसको अन्त्यका लागि सरकारले युवालाई आर्थिक शसक्तिकरण गर्ने विभिन्न प्रकारका सहुलियत दरमा ऋणको व्यवस्था गरेको बताउनुभयो ।
उहाँले देशमा नै उत्पादनमूखि कार्यलाई जोड दिनुपर्ने भन्दै कृषिलाई आधुनिकिकरण गर्दै बैज्ञानिक प्रविधिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले आर्थिक वृद्धिदरलाई बढाउँदै लगेको भन्दै मन्त्री विष्टले आगामी असारभित्रमा ज्येष्ठ नागरिक, एकल महिलालाई सामाजिक सुरक्षाभत्ता बढाउने बताउनुभयो ।






