काठमाडौँ, १५ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धिको बाटोमा अघि बढिसकेकाले अब कसैले पनि चाहेर पछाडी धकेल्न नसक्ने बताउनुभएको छ ।
गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसारका अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा उहाँले जनतामा सुशासन र विकासको तीव्र आकाङ्क्षा रहेको उल्लेख गर्दै भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपालीको नारा सफल बनाउन सबै मिलेर लाग्नुपर्छ । नेपाल र नेपालीकै पक्षमा सरकारले निर्णय गर्छ ।”
लोकतन्त्र सबै जातजाति र भाषाभाषीका लागि हो भन्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रिक गणतन्त्र सबैले मिलेर ल्याएको स्मरण गर्नुभयो । भौगोलिकरुपमा सानो भए पनि सांस्कृतिकरुपमा विविधता हुनु देशका लागि सम्भावना भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सबै जातजाति, भाषाभाषी मिलेर लाग्दा नै समृद्धि र एकता सम्भव छ ।”





