काठमाडौँ, २ पौष । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले नेपालमा समृद्ध नेपाल सुखि नेपाली बनाउन देशमा भएको स्रोत तथा साधनको प्रयोग गरी आर्थिक उपार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।
सफा सुनौलो नेपालको आयोजनामा आज यहाँ आयोजित सिलाई, कटाई तथा बुनाई तालिम समापन कार्यक्रममा बोल्दै मन्त्री थापा महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने सिप तालिमले मद्दत गर्ने बताउनुभयो । उहाँले देशमा नै रोजगारीको सृर्जना गर्नु वर्तमान सरकारको मुख्य कार्य भएको बताउँदै कृषि, पर्यटन, धार्मिक तथा सांस्कृतिक विकासलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

चीनले श्रम र पसिनाले आर्थिक वृद्धिदर उच्च बनाएको बताउँदै महिलालाई आत्मानिर्भर तथा महिला शसक्तिकरण गर्न चेतनाको विकास गराउँदै व्यापक रुपमा तालिमको आवश्यकता रहेको औल्याउनुभयो ।
कार्यक्रममा बोल्दै चीनिया राजदुतावासका कन्सुलर ज्याङ् प्याङ्ले महिलाले चाहेमा देश बदल्ने शक्ति रहेको बताउनुभयो । उहाँले तालिमले महिलालाई आर्थिक रुपले सवल भई अघि बढ्न सहयोग पुगेको समेत बताउनुभयो ।

कन्सुलर प्याङ्ले नेपाली महिलाहरुलाई जनस्तरबाटै सवल बनाउन चीन सरकार लागि परेको धारणा प्रस्तुत गर्नुभयो । उहाँले आगामी दिनमा प्राविधिक तथा विभिन्न प्रकारका तालिमहरुको आयोजना बढाउँदै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले सो संस्थाले चीन सरकारको सहयोगमा आयोजना गरेको १ महिने तालिममा सहभागी ५६ जना महिलालाई प्रमाणपत्र प्रदान गरिएकोे थियो । साथै सो तालिममा सहभागीहरूलाई आत्मनिर्भर होस् भन्ने उद्देश्ले सबैलाई सिलाई मेसिन र उनको धागो पनि प्रदान गरिएको थियो ।








