काठमाडौं, २५ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडिएटर्सले चितवन टाइगर्सलाई १२ रनले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा चितवनको लगातार तेस्रो हार भएको छ । १४४ रनको मध्यम स्कोर पछ्याउँदै ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३१ रन मात्रै बनाउन सक्यो ।
चार ओभरकै समाप्तिमा ४९ रन बनाएको चितवनले ४।१ ओभरमा ओपनर सन्दीप सुनारलाई ९ रनमा गुमाएपछि दबाबमा आएको थियो । चितवनको ५३ रन हुदा आक्रमक खेल खेलेका पाउल स्टिर्लिङ ३८ रनमा आउट भएसँगै विकेट पतन सुरु भएको थियो ।
भैरहवाका लागि रायन टेन डोइस्च्याटले ३५, प्रदीप ऐरीले २६ र रवि इन्दर सिंहले २५ रन बनाए । बलिङतर्फ चितवनका सागर ढकालले तीन विकेट लिए । त्यस्तै, जर्ज स्कटले दुई विकेट लिए ।






