काठमाडौँ, २३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले प्रमुख प्रतिपक्षि दलका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापालाई प्रधानमन्त्री केपी ओलीको राजिनामा माग्नुभन्दा आफ्नो राजनैतिक भविष्य खोज्न नेकपामा प्रवेश गरी खुल्ला प्रतिपर्धाको राजनीति गर्न चुनौति दिनुभएको छ ।
आज युवा संघ नेपालको केन्द्रीय कार्यालय बुद्धनगरमा आफ्नो संगठनका नेता तथा कार्यकर्तासँगको आपसी छलफलका क्रममा अनावश्यक कुराहरु फैलाई राजनैतिक विरासत थाम्ने कार्यको जनताले प्रत्यक्ष निगरानी गरिरहेको बताउनुभएको छ ।
विभिन्न कार्यक्रममा गई सरकारको विरोधका मानसिकता बोकी देश विकास गर्ने समयलाई खेर नफाल्न समेत अध्यक्ष पौडेलले नेता थापालाई आग्रह गर्नुभयो । देश समृद्धिको बोटोमा अघि बढिसकको बताउँदै समृद्धिको बाधक जोकोहीलाई युवा संघले प्रतिरोध गर्ने समेत चेतावनी दिनुभयो । राष्ट्रलाई विखण्डन गर्न खोज्ने जोकोहीलाई पनि युवा संघले प्रतिकार गर्ने बताउँदै अध्यक्ष पौडेलले प्रतिगामी तत्वहरुलाई परास्त गर्न आम नेपाली युवाहरु जस्तोसुकै बलिदानी गर्न समेत तयार रहेको उद्घोष गर्नुभयो ।
रााष्ट्रियताको पक्षमा आम नेपाली युवाहरु रहेको भन्दै अध्यक्ष पौडेलले देशमा कुनै पनि प्रकारको अराजक प्रवृत्ति युवाको लागि स्वीकार्य नहुने बताउनुभयो । राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो देख्ने बानीको विकास गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष पौडेलले कुनै पनि नकरात्मक कुरालाई जोडी प्रधानमन्त्रीसँग जोड्नु गैरजिम्मेवारीपूर्ण कार्य भएको बताउनुभयो ।
उहाँले देश र जनताको विरुद्धमा हुने कुनै पनि षड्यन्त्र सफल हुन नदिने बताउँदै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल बनाउन सरकारलाई जस्तोसुकै साथ र सहयोग गर्न युवा तयार रहेको बताउनुभयो ।
अध्यक्ष पौडेलले देशमा लामो राजनैतिक आन्दोलनको समाप्ती पछि अव विकासको आन्दोलन मात्र हुने बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीले गरेका काम विश्वसामु उदाहरणीय बनिरहेको बताउँदै पराजित मानसिकताबाट आत्तीएर राजनैतिक बाटो अन्योल हुँदै गएका दल तथा व्यक्तिहरुले पेशेवर रुपमा सरकारको नकरात्मक हल्ला फैलाएको तर त्यो झुट हल्लाको जनताले निगरानि गरिरहेका छन् । प्रतिक्षाको फल मिठो हुन्छ, जनताले झुटको खेती गर्नेलाई तिरस्कार गर्दै जानेछन् ।’






