भक्तपुर, १६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले व्यक्तिपरक गरिने राजनीति क्षणीक हुने भन्दै राष्ट्र र राष्ट्रियतापरक राजनीति समृद्धिको आधार हुने बताउनुभएको छ ।
अरनिको राजमार्ग सफाईको आज ११औं दिनको अवसमा बोल्दै सांसद बस्नेतले समाजलाई सुधार गर्न सर्वप्रथम आफु परिवर्तन हुने पर्ने भन्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठि सामाजिक सेवामा जुट्न सवैलाई आग्रह गर्नुभयो । उहाँको नेतृत्वमा भइरहेको उक्त दुवै अभियानमा आफै कुचो बोकी सफाईमा हरेक दिन जनतासँग एकाकार गर्दै आइरहनुभएको छ । उहाँलले जनताका समस्या, गुनासो लगायतका कुराहरु पनि आफ्नो कामसँग सँगै सुन्ने र समस्याको समाधान गर्दै आइरहनुभएको छ ।

विरोधका नाममा राजनीति गर्नुको कुनै अर्थ नभएको बताउँदै विकास निर्माणमा सवै राजनैतिक दल, संघसंस्था, जनप्रतिनिधि तथा जनता एक ढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्माणको प्रकृयामा रहेका विकासका कार्यहरुलाई कसैले पनि अवरोध नगर्न समेत आग्रह गर्नुभएको छ । जनताको भाग्य र भविष्यसँग जोडिएका कुनैपनि विकासका कार्यलाई विरोध गर्नु जनताको भाग्यमाथि नै खेलवाड हुने भएकाले सके आफ्नो नेतृत्वमा विकास गर्ने नसके अरुले गरेको विकासका गतिविधिलाई विरोध नगरी साथ र सहयोग गर्न आग्रह समेत गर्नुभएको छ ।
सांसद बस्नेतले भन्नुहुन्छ, ‘जनताले मलाई जिताएर पठाएका, केवल कुरा गर्न वा निष्क्रिय भएर बस्नका लागि मात्र होइन, व्यवहारिक रुपमा काम गरेर देखाउनको लागि हो । विगतमा भक्तपुरबाट प्रतिनिधित्व गर्ने नेतृत्वले कतिले कुरा गरेर बिताए त कतिले निष्क्रिय भएर देखाए । हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?’

एक दिन एक विकास निर्माणको कार्य गर्दै अघि बढ्ने महत्वकांक्षि योजनाका साथ जनताको सारथी बन्न पुग्नुभएको सांसद बस्नेतले भक्तपुरको मुहार फेर्ने उद्घोष गर्नुभएको छ । भक्तपुरलाई समृद्ध बनाउन राष्ट्रिय गौरवका आयोजना तथा साना ठूला गरी सयौं विकास निर्माणका कार्यलाई आफ्नै पहल तथा नेतृत्वमा द्रुत गतिमा अघि बढाइरहनुभएको छ ।
सांसद बस्नेतको पहल पश्चात भक्तपुरको विकासमा सवै राज्यका अधिकाशं निकायले सकरात्मकता देखाई उहाँका योजना सफल बनाउन सवै निकायबाट साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिरहेका छन् । विकासका योजनामा प्रतिवद्धतामात्र नभई धेरै कार्यहरु निर्माणको प्रकृयामा समेत अघि बढिरहेका छन् । जसमा सुरुङ मार्ग, आधुनिक सभागृह, अन्तराष्ट्रिय रंगशाला, प्राणी उद्यान केन्द्र, सुविधा सम्पन्न वीर अस्पताल लगायतका ठूला आयोजनाहरु निर्माणको प्रकृयामा अघि बढिरहेका छन् ।

भक्तपुरका सवै वडाहरुमा एक मूल सडकको योजना अनुसार सडक निर्माण कार्य तिव्रताका साथ अघि बढिरहेका छन् । सडक तथा राष्ट्रिय गौरवका आयोजना मात्र नभई मानिससँग प्रत्यक्ष रुपमा जोडिएका वातावरण स्वच्छतालाई प्रमुखताका साथ लिईरहनुभएका सांसद बस्नेतको नेतृत्वमा हनुमन्ते नदीको सफाई अभियान ४० औं हप्ता भएको छ भने अरनिको राजमार्ग सफाई अभियानको ११ औं दिनको कार्य सम्पन्न भइसकेको छ ।
सफाई अभियान कुनै वातावरणलाई मात्र सफाई नभई मानिसको मनभित्रबाट नै सफाई हुनुपर्ने भन्दै सांसद बस्नेतले भन्नुभयो, ‘अभियानले वातावरण प्रदुषणलाई न्युनिकरण गर्दै भक्तपुरमा भएका सडक दुर्घटना, लागुऔषध नियन्त्रण, जाममुक्त भक्तपुर बनाई प्राकृतिक सुन्दरताको विकासको सुरुवात भएको छ । त्यस्तै प्रदुषणमुक्त बनाई भक्तपुरलाई पर्यटकिय विकास गरी आर्थिक वृद्धिदरलाई उच्च बनाई आफ्नै ठाउँमा रोजगारीको वातावरण सिर्जना गर्नुपर्छ । जसका निम्ती सवैको साथ र सहयोग आवश्यक छ ।’







