काठमाडौँ, १४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विकास निर्माण तथा देशलाई समृद्ध बनाउन जो कोहीको कार्यगत शुद्धता र नैतिक बल नै मानविय सम्पत्ती भएको बताउनुभएको छ ।
घरेलु तथा साना उद्योग विकास समिती, एकिकृत कर्मचारी संघ केन्द्रीय कार्य समितीको सातौं केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै सांसद बस्नेतले देशलाई विकसित तथा परिस्कृत बनाउन राज्यका सवै निकाय तथा अंगहरुमा कार्यगत रुपमा उत्साह र उमङ्ग थप्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले कर्मचारी भित्र भएको विभेदको अन्त्य गर्नुपर्ने भन्दै आपसी समझदारीलाई सकार्यमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्मचारीको भावना अनुसार समायोजन हुने भन्दै संविधान कार्यान्वयनमा कर्मचारीको भूमिका मूख्य हुने भएकाले संवेदनशिल भई अघि बढ्न कर्मचारीलाई आग्रह समेत गर्नुभयो ।
संघियता कार्यान्वयनको चरणमा रहेकाले केही मात्रामा आशंका तथा समस्याहरु रहेको बताउँदै देशमा आर्थिक, सामाजिक, पर्यटकिय, धार्मिक लगायतका विकास निर्माणका कार्यहरुमा सरकारले गरिरहेका गतिविधिका वारेमा भएको अन्योललाई अन्त्य गराउन सवै तह र तप्कादेखि सवै एक ढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविधानसँग बाझिएका ऐनलाई आगामी संघिय संसदको अधिवेशनले सच्याउने समेत जानकारी दिनुभयो । उहाँले केही कर्मचारीले गरेको गल्तीले समग्र निकायका कर्मचारीलाई दोष दिनु नहुने सत्य र तथ्य कुरा बुझ्न र बुझाउन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो ।
उद्योग मन्त्रालयका सहसचिव सत्रुधन प्रसाद पुडासैनीले राष्ट्रले विकास र समृद्धिको लागि नयाँ गति लिएकाले सकारात्मक सोचका साथ हातेमालो गर्दै अघि बढ्न सम्पूर्ण कर्मचारीलाई आग्रह गर्नुभयो ।
आधिकारीक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले भ्रम र आशंकित बनाएर कुनै पनि कुराको राजनीति गर्नु नहुने भन्दै भिजन र परिकल्पना गर्ने व्यक्ति वा सरकारका कार्यहरुको समर्थन गर्दै आम कर्मचारी तथा जनता राष्ट्रवादी हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै पेशागत महासंघका उपाध्यक्ष कृष्णमान प्रधानले घरेलु तथा साना उद्योगले सिप सिकाएर उद्यमशिल नागरिक जन्माउने, स्वदेशमा नै रोजगारी तथा आर्थिक उन्नतीको मेरुदण्डको रुपमा कार्य गर्दै आएको बताउनुभयो ।






