भक्तपुर, १ मंसिर । कोटेश्वरका जामका कारण ठूलै समस्या भागिरहेको समयमा मनोहरा नदीको पुलदेखि हनुमन्ते र मनोहरा नदीको संगम स्थल हनुमन्ते मनोहरा दोभान हुँदै राम मन्दिरसम्मको कालोपत्रे गर्ने कार्य आज सम्पन्न भएको छ ।
करिडोरको निर्माण सम्पन्न भएसँगै अरनीको राजमार्गहुँदै काठमाडौँ प्रवेशमा हुने जाम अन्त्यको कार्य तिव्र गतिमा अघि बढेको छ । सडक निर्माण सम्पन्नसँगै उक्त कोटेश्वर जडिबुटीको सवारी जाममा केही राहत हुने निश्चित भएको छ ।
यो सडक निर्माण सम्पन्न भएसँगै आगामी हप्तादेखी नै हनुमन्ते नदीको करिडोर समेत निर्माण कार्य प्रारम्भ हुने भएको छ । त्यस्तै उक्त सडक निर्माण गर्नमा अवरोध भइरहेको महिला समुहले देउसी भौलो खेली निर्माण गरेको सामुदायिक भवन सडक मापदण्ड भित्र परेकोले भत्काइएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्र्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसमभाका सांसद महेश बस्नेत, नगरपालिका र सो समूहबीच उक्त भवन सडकलाई समस्या नपर्ने गरी पुनःनिर्माण गर्ने सहमति भएपश्चात उक्त भवन भत्काइएको हो । उक्त भवन निर्माण गर्न नगरपालिका तथा सांसद बस्नेतले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
उक्त समाजको भवन भत्काइएसँगै उक्त स्थानमा हनुमन्ते नदीको करिडोर निर्माण कार्य शुरु गर्न भइरहेको समस्या समाधान भएको हो । उक्त समस्या समाधानसँगै आगामी हप्तादेखि नै निर्माण कार्य शुरु हुने निश्चित भएको हो ।
सांसद बस्नेतको विशेष पहलमा भइरहेका उक्त सडक निर्माणका आयोजनाहरु केही सम्पन्न भएका छन् त केही निर्माणका क्रममा रहेका छन् भने कतिपय निर्माणका चरणमा रहेका छन् ।
त्यस्तै नदीका कारण डुवानको समस्या समाधान गर्न लोकन्थलीदेखि टिकाथलीसम्मको हनुमन्ते नदीको पानी बग्ने भाग समेत ढलान गर्ने कार्य समेत तत्कालै प्रारम्भ हुने भएको छ ।
कुल ८१ करोडको लागतमा शुरु हुने हनुमन्ते नदीको करडोर निर्माण सम्पन्न भएपश्चात कोटेश्वर जडिबुटीको जामको समस्या समाधान मात्र नभई अरनीको राजमार्गमा हुने अत्याधिक दुर्घटनाको समेत अन्त्य हुने सांसद बस्नेत बताउनुहुन्छ । त्यस्तै उहाँले भन्नुभयो ‘हनुमन्ते नदीको करिडोर निर्माण सम्पन्न भएपश्चात सवारी जाम, दुर्घटना तथा भक्तपुर डुबानको समस्या समाधान हुन्छ । सुन्दर, सफा, सुरक्षित तथा विकसित भक्तपुर निर्माणमा कसैले रोक्न सक्दैन ।’
सांसद बस्नेतले स्थानीय सरकार, प्रदेश सरकार तथा संघिय सरकार गरी तीनै सरकारसँग सहकार्य तथा समन्वय गरी भक्तपुरलाई विकसित बनाउन राष्ट्रिय गौरवका आयोजनाहरु द्रुत गतिमा अघि बढाइरहनुभएको छ । भक्तपुरमा अन्तराष्ट्रिय रङ्गशाला, प्राणी उद्यान केन्द्र, वीर अस्पताल, स्मार्ट सिटी, सभागृह लगायतका कार्यहरु संघिय सरकारले डिपिआर गर्ने कार्य तथा योजनाहरुलाई कार्यान्वयन गर्ने प्रक्रियामा अघि बढिरहेको छ ।






