(भदौ २८, एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी चुनावमा हस्तक्षेप गर्न खोज्ने विदेशीलाई प्रतिबन्ध लगाउन सक्ने व्यवस्था गरिएको आदेशमा हस्ताक्षर गर्नुभएको छ ।
अमेरिकी संसद कंग्रेसको चुनाव आउन आठ हप्ता बाँकी छँदा नयाँ व्यवस्था गरिएको हो । चुनावमा कुनै पनि प्रकारको हस्तक्षेप नहोस् भनेर सम्भाव्य सबै कदम चाल्न लागिरहेका वताइएको छ । चुनावसम्म र चुनावपछि पनि सम्भाव्य हस्तक्षेपबारे आँकलन गर्ने र त्यसको उपचार खोज्ने प्रक्रियाको थालनी गर्ने जसका कारण अमेरिकी नागरिकहरू चुनावको निष्पक्षताबारे ढुक्क हुन सकुन भन्ने उद्देश्यका साथ उक्त कदम चालिएको बताइएको छ ।
अमेरिकी कंग्रेसका रिपब्लिकन तथा डिमोक्र्याट सदस्यहरूले पछिल्लो कदमलाई धेरै ढिलो गरेर गरिएको निकै थोरै काम भनेका छन् ।
उनीहरूले पछिल्लो आदेशले राष्ट्रपतिलाई विदेशी हस्तक्षेपविरुद्ध कारबाही गर्न तजबिजी अधिकार दिने चिन्ता व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले चुनावको निष्पक्षता सुनिश्चित गर्न पछिल्लो कदम चालिएको बताउनुभएको छ ।





