(साउन ४, काठमाडौं) । बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा लगानी बढाएसँगै घरजग्गा कर्जामा ६१ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७४/७५ को ११ महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रले निजी क्षेत्रमा करिब १९.९ प्रतिशतले कर्जा बढाएको बताएको हो ।
राष्ट्र बैंकका अनुसार निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १९.९ प्रतिशत, विकास बैंकहरुको २०.६ प्रतिशत र वित्त कम्पनीहरुको १४.३ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ । वार्षिक बिन्दुगत आधारमा ०७५ जेठमा मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २१.० प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा रहेको छ । यसैगरी १४.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिप्ट (आयात) कर्जा ८३.३ प्रतिशत (रु.५३ अर्ब ७४ करोड)ले वृद्धि भई रु. ११८ अर्ब २७ करोड पुगेकोछ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा १२.८ प्रतिशतले तथा ओभरड्राफ्ट कर्जा १३।३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।






