न्यायिक समानता र पेशागत हकहित, भ्रष्टचारमुक्त न्यायपालिका : अधिवक्ता खड्का

सर्वोच्च अदालत बार एशोसिएशन आफ्नो कार्यसमितीको प्रत्येक दुई वर्षमा हुने निर्वाचनका लागि आगामि असार २३ गते हुने निर्वाचनको अन्तिम तयारीमा जुटिरहेको छ । कार्यसमितिको निम्ती विभिन्न तह र तप्काबाट आ–आफ्नो समुहगत रुपमा उम्मेदवारी प्रस्तुत भएका छन् । न्यायिक समानता, स्वतन्त्रता, पेशागत हक हित, भ्रष्टचारमुक्त सक्षम र स्वतन्त्र न्यायपालिका, जवाफदेहिता तथा सामाजिक क्षेत्रमा निश्पक्ष वकालत गर्दै विकृति र विशंगतिको विरुद्धमा जहिले पनि अडिग र अटल रुपमा रहि आफ्नो छुट्टै पहिचान वनाउन सफल रहेका अधिवक्ता राजु खड्काले पेशागत, प्रगतिशील, मधेशी, आदिवासी तथा देशभक्त कानुन व्यवसायी समुहका तर्फबाट उपाध्यक्षका लागि मुख्य दावेदारी प्रस्तुत गरेका छन् । आफ्नो जीवन सामाजिक सेवा तथा कानुनी सेवामा समर्पित गरेका खड्का विगत २ दशकभन्दा बढी समयदेखि कानुनी व्यवसायमा निरन्तर संलग्न रही आफ्नो क्षेत्रको कार्यमा अब्बल वनीसकेका व्यक्तित्वको रुपमा लिईन्छ । आर्थिक उपार्जनभन्दा सेवालाई प्राथमिकताका साथ आत्मसात गर्ने खड्का जनआन्दोलनको समयमा गैह्रकानूनी थुनामा रहेका व्यक्तिहरु, सामाजिक रुपमा पिडित महिला, शैक्षिक, जेष्ठ नागरीक, वैंकिङ तथा विभिन्न संघ संस्थासम्वद्ध केशहरु न्यायिक एवं निश्पक्ष रुपमा वकालत गरी पिडितलाई न्याय दिलाउन सफल भईसकेका चिरपरिचित व्यक्ति हुन् । न्यायीक क्षेत्रमा आम नागरिकको मनमुटुमा वस्न सफल भएका उपाध्यक्ष पदका उम्मेदवार खड्कासँग एभरेष्ट मिशन.कमका सम्पादक विरेन चौलागाईले गरेको प्रत्यक्ष कुराकानी :

१. आगामि निर्वाचनको निम्ती कस्तो तयारी गर्दै हुनुहुन्छ ?

सर्वोच्च अदालत बार एशोसिएशनको आगामि निर्वाचनको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । मेरो व्यक्तिगत रुपमा मात्र नभई सामुहीक रुपमा तयारी तिव्ररुपमा अघि वढिरहेको छ । निर्वाचनको तयारीका निम्ती हामीले न्यायीक क्षेत्रलाई व्यवसायिक रुपमा सत्य तथ्य तथा वास्तविकतालाई वकालत गर्ने र सर्वसाधारणको पहुँचमा पुर्याउनको निम्ती विभिन्न प्रकारका रणनीतिहरु खोज तथा अनुसन्धान गर्दै यस क्षेत्रमा आवश्यक पर्ने र नभई नहुने प्रतिवद्धताहरु जुन भोली व्यवहारिक रुपमा लागु गर्न सकिने योजनाहरु निर्माण गरी कानुन व्यवसायी जो सर्वोच्च अदालत बारसंग सम्वन्धित हुनुहुन्छ वहाँहरुलाई आफ्नो समुहको तर्फबाट प्रतिवद्धताहरु प्रस्तुत गर्दै विभिन्न प्रकारका छलफल, विचार आदानप्रदान, प्रचार प्रसार, अन्तरक्रिया जस्ता कार्यहरुसहित तयारी भईरहेको छ ।

२. कार्यसमितिको निर्वाचनमा राजु खड्का र तपाइको समुहलाई नै किन ?

सत्य तथ्य, सुरक्षा, मर्यादामा रही निश्पक्ष न्यायीक वकालत हुनु अनिवार्य कुरा हो । सत्य तथा निश्पक्षताको पक्षमा म र मेरो टिम जहिले पनि अडिक र अटल रहिआएका व्यक्तिहरु समावेश भएको समुहको रुपमा रहेको छ । न्यायिक समानता, भ्रष्टचारमुक्त, सक्षम, स्वतन्त्र, जवाफदेही न्यायपालिकाको निम्ती न्यायालय र न्याय प्रशासनलाई विकृति बनाउने पात्र र प्रवृत्तिहरुलाई पहिचान गरी त्यस्ता पात्र र प्रवृत्तिहरुलाई न्यायालयमा प्रवेश निषेध गर्न म र मेरो सम्पूर्ण टिम लाग्नेछ । जसले गर्दा न्यायका पहुँचवाट टाढा रहेका सम्पूर्ण नागरिकहरुलाई न्यायको अनुभुत हुने गराउने परिस्थिती निर्माण हुनेछ । अदालतको पेशी व्यवस्थापनलाई वैज्ञानिक, पारदर्शी र बोधगम्य बनाउने छौं । सम्पूर्ण अदालती कार्यहरुलाई सेवामुखी बनाउने कार्यमा निरन्तर लागि परिरहने छौं । सर्वोच्च अदालत बारलाई वास्तविक अर्थमा सर्वोच्च र गरिमायुक्त बनाउन निरन्तर क्रियाशील रहने छौं । यस्ता यावत कुराहरुलाई व्यवहारिक बनाउनको निम्ती हाम्रो समुह गतिशिल र पेशाप्रति प्रतिवद्धसमेत भएकाले हाम्रो समुह अहिलेको लागि अनिवार्य आवश्यकता हो सर्वोच्च अदालत बारलाई ।

३. तपाई र तपाईको समुहको तर्फबाट न्यायीक क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको पेशागत हक र हितको निम्ती के गर्न सकिन्छ ?

एक मर्यादित र अत्यन्त कठिन पस्थितीबाट क्रमशः सहज परिस्थितीमा आउंदै जाने व्यवसाय हो यो । यस क्षेत्रमा सुरुमा अलि वढी संघर्ष गर्नु नै पर्ने हुन्छ । यो पेशाको निम्ती, यो पेशामा रहेर कुनै पनि न्यायिक कार्य सम्पादनको निम्ती निश्चित नीति नियम आवश्यक हुन्छ र त्यसलाई व्यवहारिक रुपमा लागु गर्नुको कुनै विकल्प पनि छैन । त्यसमा लाइसेन्स लिएका जतिपनि व्यक्तित्वहरु हुनुहुन्छ वहाँहरुले आफ्नो पेशालाई नै आदर्श मानेर अंगाल्ने र सुरुमै हतोत्साहि नभई प्रतिवद्ध पनि हुनुपर्छ । यसमा सर्वोच्च अदालत वार प्रतिनिधिमुलक वार भएकोले उत्प्रेरकको भूमिका निर्वाह गर्न सक्छ ।

४. आगामि निर्वाचनमा तपाईहरुको समुहको विजय यात्रा कस्तो कल्पना गर्नुभएको छ ?

हाम्रो संगठन प्रगतिशिल, सक्षम, योग्य, पेशा प्रति वफादार भएकाले हामी विजयउन्मुख रहेका छौं, यसमा कुनै संका छैन । यो पेशा व्यवसायमा निरन्तर लाग्नुहुने वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरुको साथ र सहयोग पाएका छौं, जसमा हामीले हाम्रो समुहमा समावेशीतालाई पनि मुख्य रुपमा अंगालेका छौं । जनमुखी तथा सेवामुखी व्यक्तित्वहरुको समुह भएकाले यो समुहको विजय लगभग निश्चित जस्तै रहेको छ ।

५. राष्ट्रिय राजनीति र सर्वोच्च अदालत वार एशोसिएशनलाई कसरी लिन सकिन्छ ?

राष्ट्रिय राजनीतिमा जहिलेपनि गतिशिल सोच र विचार राख्ने हो । नेपालमा करिव १७ देखि १८ हजार वरावर कानुन व्यवसायीहरु हुनुहुन्छ । त्यसमा लगभग ५० प्रतिशत अन्य व्यवसायमा लाग्नु भएको छ । जसमा २५ सयदेखि तीन हजार हाराहारी कानून व्यवसायीहरु उपत्यकालाई आधार बनाएर आफ्नो पेशा अंगालिरहनु भएको छ । विसुद्ध कानून व्यवसायको पेशामा देशभर क्रियाशिल रुपमा करिव पाँच हजार मात्र लाग्नु भएको छ, जसले नेपालको ३ करोडभन्दा वढी रहेको जनसंख्यालाई धान्ने अवस्था भने छैन । अहिलेको संघिय संरचना अनुसार त झनै स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार चलाउनको निम्ती ऐन, कानून, निति, नियम जानेका आवश्यक कानुन व्यवसायी नभइरहेको अवस्था रहेको देखिन्छ । देशमा प्रविधिगत रुपमा फरक भएकाले आगामि दिनमा एकरुपता ल्याउनु पर्ने आवश्यकता रहेको छ । अदालतमा वकालत पेशाका साथसाथै अध्ययन र अनुसन्धानको क्षेत्रमा अलि व्यापक विकास र विस्तार गर्नुपर्ने हुन्छ ।

६. भनिन्छ अदालत सर्वसाधारणको पहुँच भन्दा टाढा हुन्छ, यसलाई निवारण गर्न के गर्न सकिन्छ ?

वास्तवमा नै नेपाल एक गरिव तथा अविकसित देश हो । यहाँका सर्वसाधारण मानिसहरुको आयस्रोत कमजोर रहेको छ । त्यसैले व्यवहारिक रुपमा नै हेर्दा अदालत केही मात्रामा सर्वसाधारण मानिसदेखि केही टाढा रहेको प्रतित हुन्छ । देशका नागरिकहरुको आयआर्जनको क्षमतामा बृद्धि भएसंगै आगामि दिनमा यो अवस्था क्रमशः न्युनिकरण हुंदै जाला । अहिले विद्यमान अदालतले पैmसला गर्ने परिपाटिलाई सुधार गरी इन्साफ गर्ने परिपाटीको बिकाश हुनुपर्छ । न्यायीक क्षेत्रमा कसैको भनसुन तथा लेनदेनको आधारमा निर्णय लिने परिस्थिति कायम रहनु हुँदैन । यसको लागि हामीले भनेको छौं कि अदालतमा तथा वकालतमा नाफा मुखी भन्दा पनि सेवामुखी बनाउनु पर्छ । मानिसको आर्थिक अवस्थालाई ध्यान दिई सर्वसाधारण जनताले सहजै रुपमा न्यायको निम्ती अदालतसम्म जान सक्ने गरी वातावरण सिर्जना गर्नुपर्छ । जसवाट अदालतसम्म जाने मानिसले न्याय पाउंछ भन्ने जनचेतनाको विस्तार गर्नुपर्ने हुन्छ ।

७. निर्वाचित भएको खण्डमा सर्वोच्च अदालत वार एशोसिएशनलाई अव्वल संगठन बनाउनको निम्ती तपाईहरुको समुहको तर्फबाट के गर्ने योजनामा हुनुहुन्छ ?

सर्वोच्च अदालत वार एशोसिएशन देशको सवैभन्दा माथिल्लो न्यायीक निकाय सर्वोच्च अदालतसंग सन्निहित एउटा प्रमुख संगठनको रुपमा रहेको छ । हाम्रो समुहले विजय पश्चात वारलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा समन्वय गरी अघि वढ्ने छ । जसमा सम्भव भएसम्म विश्वव्यापी रुपमा सम्बन्ध विस्तार गर्नेछौं, यदि तत्काल सम्भव भएन भने पनि दक्षिण एसिया तथा एसिया स्तरमा सम्बन्ध विस्तार गर्ने छौं । त्यस्तै संस्थालाई चुस्त र दुरुस्त राख्नको निम्ती आर्थिक, सामाजिक, सांगठनिक रुपमा एकरुपता तथा पारदर्शिता ल्याई जनमुखी तथा सेवामुखी बनाउने छौं । न्यायपालिका, बार र पेशागत हक हितका सम्बन्धमा जहिले पनि सजग र सचेत रहनेछौं, जसवाट यो पेशामा लागेकाको पहिचान उच्च बनाउने तथा सर्वसाधारण जनतालाई न्यायको पहुँचमा ल्याउन मद्धत हुनेछ ।

८. तपाईको समुहको तर्फबाट उम्मेदवार को को हुनुहुन्छ ?

हाम्रो समुहको तर्फबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्र प्रसाद अधिकारी, उपाध्यक्षमा म आफै, सचिवमा अधिवक्ता वासुदेव सिग्देल, सहसचिवमा अधिवक्ता पुण्य शिला दवाडी घिमिरे, कोषाध्यक्षमा अधिवक्ता धनञ्जय खनाल, महिला सदस्य अधिवक्ता किरण कुमारी गुप्ता, सदस्यहरुमा अधिवक्ताहरु क्र्रमशः राजु आचार्य, कृष्णप्रसाद न्यौपाने, राजाराम उपाध्याय भट्टराई, अनन्त कार्की, पुष्पराज पौडेल, दिपेन्द्र कुमार राई, दीपनारायण शाह, मुरारी प्रसाद सापकोटा र मकुन्द न्यौपाने हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक

काठमाडौँ, ३० असार । लामो समयदेखि बन्द भई पटक-पटक सञ्चालन गर्ने भनिएको तर सञ्चालन गर्न चासो नदिइएको हेटौंडा कपडा उद्योग

काठमाडौँ, ३० असार । काठमाडौँ उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ६४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँबाट ५२

काठमाडौँ, ३० असार । पूर्वी पहाड तथा तराईका विभिन्न जिल्लामा भएको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ