(असार १६, एजेन्सी) । क्यानाडाकी विदेशमन्त्रीले स्टील र एलुमिनियममा अमेरिकाले लगाएको नयाँ करसामु आफ्नो देश ‘नझुक्ने’ बताएकी छन् ।
देशका स्टील र एलुमिनियम उद्योगलाई सघाउन क्यानाडाले डेढ अर्ब अमेरिकी डलर बराबरको सहायता कार्यक्रम सार्वजनिक गरेपछि विदेशमन्त्री क्रिष्टिया फ्रीलण्डको पछिल्लो भनाइ आएको हो।
१६.६ अर्ब क्यानाडियन डलर मूल्य बराबरको अमेरिकी सामानमा क्यानाडाले लगाएको कर जुलाइ १ तारिखदेखि कार्यान्वयनमा आउनेछ।
क्यानाडाले लगाएको कर अमेरिकी स्टील तथा एलुमिनियम उत्पादनमा लक्षित छ। त्यसबाहेक दही, केट्चप र राजनीतिक अखडा मानिने विस्कन्सिन, पेन्सिल्भानिया र फ्लोरिडामा उत्पादन हुने सुन्तलाको जुस पनि क्यानाडाको करको दायराभित्र पर्नेछन्।
अमेरिकाले गत जुन १ देखि लागु गरेको करको जवाफमा कर लगाइएको फ्रीलण्डले बताउँदै उनले भनिन्, “हामीले अवलम्बन गर्ने नीति तनाव बढाउने प्रकृतिको हुनेछैन तर त्योसँगै हामी झुक्ने पनि छैनौँ।”
गत वर्ष दुई देशबीच ७०० अर्ब अमेरिकी डलर बराबरको व्यापार भएको थियो। तर काठ, दूधजन्य उत्पादन र रक्सी लगायतका विवादलाई लिएर दुई देशबीचको व्यापार सम्बन्धमा तनाव चुलिएको छ।






