(जेष्ठ २९, भक्तपुर) । प्रदेश नं. ३ को स्थायी राजधानीको निम्ती प्रदेश नं ३ को स्थायी राजधानी निर्धारण गर्न गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले प्रदेशको राजधानी सम्भाव्यता अध्ययन गर्ने क्रममा आज भक्तपुर जिल्लाको स्थलगत अध्ययन गरेको छ ।
सवै सेवा, सुविधा, वातावरण, भुगोल, भौतिक संरचना, आर्थिक भार कम लाग्ने जस्ता यावत कुराहरुले गर्दा प्रदेशको राजधानि भक्तपुरको अर्को विकल्प नरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री, प्रतिनिधि सभाका सांसद महेश वस्नेतले जनाएका छन् ।
छलफलमा सांसद बस्नेतले भक्तपुरको मात्रै नभई सिङ्गो ३ नं प्रदेशको हितका लागि भक्तपुर स्थायी राजधानी हुने चर्चा गर्दै केन्द्रीय राजधानीसँग जोडिएको भन्ने तर्कबाहेक भक्तपुर प्रदेश राजधानी हुन नहुने कुनै कारण नभएको बताए । उनले भक्तपुरलाई प्रदेश राजधानी बनाउनेबारेमा प्रदेश सांसदबीच सर्वसम्मत निर्णय हुने विश्वास व्यक्त गर्दै केन्द्रीय राजधानीसँग जोडिएको भए पनि भक्तपुर सबै कारणले पछाडि परेको जिल्ला भएको बताएका छन् ।
छलफलमा ३ नं प्रदेशका प्रदेशसभा सदस्य शशिजंग थापाले भक्तपुर नै प्रदेश राजधानी हुनुपर्ने तर्क राख्दै सानोठिमी स्थित शिक्षा मन्त्रालय मातहतमा रहेका २०० रोपनी जग्गा, प्रशस्त क्वार्टरसहितको भौतिक संरचना रहेको, विशालसभा हल रहेको, सरकारले बनाएको प्राविधिक टोलीले भक्तपुर उपयुक्त भएको ठहर गरेको, अरनिको राजमार्गसँग जोडिएको क्षेत्र भएको, भौगोलिक सुगमता भएको, भौतिक संरचना निर्माणका लागि अरबौ रकम सरकारको बचत हुने, केन्द्रीय सरकारसँग तत्कालै पहुँच पुग्ने, स्थायी सरकारी कार्यालयका लागि प्रशस्त जग्गा जमिन भएको तर्क प्रस्तुत गर्दै भक्तपुरको विकल्प नभएको बताएका छन् ।
प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा दर्ता भएका जिल्लाको अध्ययन गर्ने क्रममा समितिका सभापति दीपक निरौलासहितको सदस्य टोलीले भक्तपुरको स्थलगत अध्ययन गरेको हो । भक्तपुर, काभ्रे र नुवाकोटको अध्ययन पूरा गरेको समितिले अब चितवन र मकवानपुरको अध्ययनपश्चात आगामी असार १० गते प्रतिवेदन पेश गर्ने भएको छ ।






