काठमाडौँ, ३ जेठ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले जानेर बुझेर नै संसद्को अवहेलना गरेको आरोप लगाएका छन् ।
आज प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली कमजोरी वा अपरिपक्वताका कारण नभई नियतवश भएको दाबी गरेका हुन् ।
महामन्त्री पौडेलले सरकार अत्यधिक रूपमा केन्द्रिकृत हुँदै गएको आरोप पनि लगाए । उनका अनुसार राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण तथा विशेष अनुसन्धान जस्ता संवेदनशील निकायहरूलाई प्रधानमन्त्री केन्द्रित बनाइएको छ । यसले शक्तिको सन्तुलन बिगार्ने खतरा बढाएको उनको भनाइ छ ।
उनले संवैधानिक परिषद्को संरचनामा गरिएको परिवर्तनप्रति पनि आपत्ति जनाए । ६ सदस्यीय परिषद्मा ३ जनाले बहुमत पुर्याउने व्यवस्था बनाइनु विश्वमै दुर्लभ अभ्यास भएको उनको दाबी छ । उनले भने, ‘प्रधानमन्त्रीमा ‘म नै सबैथोक हुँ’ भन्ने सोच हाबी हुँदै गएको छ,’ ‘यस्तो प्रवृत्तिले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने खतरा हुन्छ ।’






