काठमाडौँ, १ जेठ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले विदेशबाट अरबौँको मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी छन् ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री चौधरीले रासायनिक मलको आयातमा मात्रै मन्त्रालयको झण्डै ५० प्रतिशत बजेट खर्च हुने उल्लेख गरिन् ।
स्वदेशमा नै मल कारखाना वा अन्य कुनै विकल्प सिर्जना गरेर भएपनि विदेशबाट अरबौँको मल खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी हुन् । नेपालमा नै पर्याप्त मल उत्पादन गर्न सके मल खरिदका लागि छुट्ट्याइने अरबौँ रकम कृषि क्षेत्रको विकासमा उपयोग गर्न सकिने उनको भनाइ छ ।
कृषि क्षेत्रलाई प्रविधिमैत्री बनाउने, किसानहरूको उत्पादनलाई बजारीकरण गर्ने लगायतका विषयमा आफू गम्भीर रहेको उनले बताइन् ।






