काठमाडौँ, २४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा लोकतन्त्रको सुदृढीकरण र नागरिकको सु-सूचित हुने अधिकारको रक्षाका लागि मर्यादित एवं जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताएका छन् ।
आज राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन् ।
१९५८ सालमा गोरखापत्रको प्रकाशन सुरु भएको ऐतिहासिक दिन २४ वैशाखलाई स्मरण गर्दै राष्ट्रपतिले देशभरका सञ्चारकर्मीहरूमा शुभकामना व्यक्त गरेका हुन् । सो अवसरमा उनले ‘वरिष्ठ पत्रकार सम्मान’ तथा ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत पत्रकारहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको उच्च प्रशंसा गरे ।





