एजेन्सी, २४ बैशाख । इरानले युद्ध अन्त्यका लागि अमेरिकाले अघि सारेको प्रस्तावमाथि अझै विचार गरिरहेको जनाएको छ।
दुई पक्ष सम्झौताको नजिक पुगेको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला इरानले प्रस्ताव अझै विचाराधीन रहेको स्पष्ट पारेको हो।
अमेरिकी सञ्चारमाध्यम एक्सिओसले ह्वाइट हाउसले इरानसँग १४ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी गरिरहेको दाबी गरेपछि यो विषय चर्चामा आएको छ। तर इरानी संसद्का एक वरिष्ठ सदस्यले यसलाई अमेरिकाको ‘इच्छाको सूची’ मात्र भन्दै खारेज गरिदिएका छन् भने विदेश मन्त्रालयका प्रवक्ताले तेहरानले अमेरिकी प्रस्तावबारे आफ्नो धारणा मध्यस्थकर्ता पाकिस्तानसँग साझा गर्ने बताएका छन्।
पाकिस्तानका विदेशमन्त्रीले आफ्नो देश यो युद्धविरामलाई स्थायी शान्तिमा परिणत गर्न प्रयासरत रहेको उल्लेख गरेका छन्। यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत २४ घण्टामा इरानसँग निकै राम्रो कुराकानी भएको र सम्झौता हुनसक्ने सम्भावना बलियो रहेको दाबी गरेका छन्।






