काठमाडौँ, २४ पौष । प्रधानमन्त्री सुशीला कार्की स्वर्गीय उज्ज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ को विशेष प्रदर्शनीमा सहभागी भएकी छन् ।
विवेकशील नेपाली पार्टीका संस्थापक थापाको ४९औँ जन्मजयन्ती एवं उज्ज्वल थापा फाउन्डेसनको चौथो वार्षिकोत्सवका अवसरमा बुधबार ललितपुरमा आयोजना गरेको विशेष प्रदर्शनी गरिएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्याल, संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल, जेनजी अभियन्ता रक्षा बम लगायत वैकल्पिक राजनीतिमा सक्रिय अनुहारहरू प्रिमियरमा देखिए ।
प्रिमियरमा बोल्दै प्रधानमन्त्री कार्कीले नेपालमा वैकल्पिक राजनीतिलाई अघि बढाउन थापाले खेलेको भूमिका र उनको व्यक्तित्वको स्मरण गरिन् । वर्तमान राजनीतिक अन्योलताको बीचमा थापाको खालीपन महसुस भएको प्रधानमन्त्रीले बताइन् ।
प्रधानमन्त्रीले भनिन्, ‘अहिले पनि हामीलाई उहाँको खालीपन महसुस छ, त्यस्तो मान्छे भैदिए हुन्थ्यो भन्ने । पल्टिकल टर्माइल छ, यस्तो बेला उहाँ हुनुपथ्र्यो भन्ने लाग्छ । घोच्ने मान्छे त होइन, चेत दिलाउने समाजलाई, कन्सस गराउने, जगाउने मान्छेको रुपमा उहाँ हुनुहुन्थ्यो ।’
उज्वल र प्रदीप गिरीजस्ता मान्छे वर्तमान राजनीतिलाई जरुरी रहेको धारणा प्रधानमन्त्रीको थियो । ‘अहिलेको बेलामा फिल हुन्छ, त्यस्तो मान्छे हुनुपथ्र्यो अहिले । प्रदीप गिरीजस्ता पनि मान्छे हुनुपथ्र्यो जस्तो लाग्छ । आफ्नो जीवनको आयुको बारेमा मान्छेले तोक्नै सक्दैन’ उनले भनिन् ।






