काठमाडौँ, १८ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी पुसका लागि निर्धारण गरिएको १५औं महाधिवेशन सौहार्द वातावरणमा सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्ने बताएका छन् ।
आज महाराजगञ्जस्थित भाडाको निवासमा भेटघाटका लागि पुगेका नियमित महाधिवेशन पक्षधर युवा नेताहरूसँग उनले २६–२८ पुसमा तोकिएको महाधिवेशन सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्ने बताएका हुन् ।
सभापति देउवाले युवा नेताहरूलाई महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न युवाले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा पनि जोड दिए । भेटबारे युवा नेता सरोज थापाले भने, ‘सभापतिज्यूबाट १५ औं महाधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सबै जिम्मेवार हुनुपर्ने र हामीलाई जिम्मेवारीपूर्वक भूमिका खेल्न भन्नुभयो ।’
सभापति देउवाले युवा नेताहरूलाई १५ औं महाधिवेशनमार्फत् पार्टीलाई एकत्रित र एकबद्ध बनाएर निर्वाचनमा होमिनसमेत निर्देशन दिए । उनले पार्टी नियमित महाधिवेशनमा अघि बढेको अवस्थामा अझै पनि विशेष महाधिवेशनको चर्चा गर्नु असान्दर्भिक भएको बताए ।
भेटमा सहभागी नेताहरूले सभापति देउवासँग निर्धारित समयमा नियमित महाधिवेशन गर्न, वडादेखि केन्द्रसम्म पार्टीको पुनर्गठन, पुस्तान्तरण र रुपान्तरणको प्रक्रिया अघि वढाउन र महाधिवेशनमा युवाको उल्लेखनीय उपस्थिति गराउन युवा, विद्यार्थीहरूको भूमिकाबारेमा सभापति देउवाको ध्यानाकर्षण गराएका थिए ।






