काठमाडौँ, १८ कार्तिक । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी नेपालले सवा ३ महिनाको अवधिमा झन्डै २६ करोड रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ। उक्त अवधिमा अबैध सामान तस्करीमा संलग्न ३० जना तस्करलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीका डीआईजी कृष्ण ढकालको कमान्डमा रहेका मधेस प्रदेशस्थित नम्बर २ छिन्नमस्ता बाहिनी मातहतका विभिन्न गणहरूले साउनदेखि कात्तिक १५ गतेसम्म सञ्चालन गरेको कारबाहीमा २५ करोड ८७ लाख ९५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामग्री बरामद गरेको बाहिनीले जनाएको छ ।
अवैध ओसारपसारविरुद्धको अभियानअन्तर्गत सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सास्थित गणहरूले पृथक् कारबाहीमा ठुलो परिमाणमा तस्करीका सामान बरामद गरेका छन् ।
त्यस क्रममा पर्सास्थित सशस्त्र प्रहरी नं.१३ गणले मात्र ९ करोड ९८ लाख रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको हो । त्यस्तै सोही अवधिमा रौतहटस्थित सशस्त्र प्रहरी बल नं.११ गण हेक्वा रौतहटले २ करोड ९४ हजार ७६८ रुपैयाँको सामग्री बरामद गरेको एसपी रामहरि अधिकारीले बताएका छन् ।






