काठमाडौँ, २८ असोज । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुल बापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको लाइन काट्ने भएको छ । प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूलाई कात्तिक २ गतेसम्मको अन्तिम म्याद दिएको छ ।
तोकिएको समयभित्र बक्यौता नबुझाए सबै उद्योगको विद्युत् लाइन काट्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता राजन ढकालले भने, ‘अहिलेसम्म कुनै पनि उद्योगले बक्यौता तिर्न आएका छैनन् । केही उद्योगी छलफलका लागि आएका छन् । बक्यौता तिर्नुको विकल्प छैन, नतिरे सबैको लाइन काटिन्छ ।’
प्राधिकरणले कात्तिक २ गते राति १२ बजेपछि बक्यौता नतिर्ने सबै उद्योगको लाइन काट्ने तयारी गरिरहेको छ । यता, उद्योगी र प्राधिकरणबिच यो विवाद लामो समयदेखि चल्दै आएको छ । उद्योगीहरूले टीओडी मिटरको विवरण नभएको भन्दै बक्यौता तिर्न अस्वीकार गर्दै आएका छन् ।





