काठमाडौँ, २१ असोज । बाढीपहिरोका कारण विभिन्न सडकखण्डमा यातायात सेवा अझै प्रभावित भएको छ ।
प्रहरीका अनुसार मकवानपुरबाट काठमाडौँ जोड्ने मुख्य सडकखण्ड हेटौंडा–सिस्नेरी– काठमाडौँ र हुमाने–फाखेल– काठमाडौँ सडकमा एकतर्फी मात्रै सञ्चालनमा छन् ।
मकवानपुरबाट का काठमाडौँतर्फ आउने गाडीहरु सिस्नेरी–दक्षिणकाली हुँदै र काठमाडौँबाट मकवानपुरतर्फ जाने गाडीहरुलाई फाखेल मार्ग हुँदै गन्तव्यमा पठाइएको छ । पहिरो पूर्णरूपमा नहटेसम्म वैकल्पिक व्यवस्थाबाटै गाडी सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ । बाढीपहिरोकै कारण कान्ति लोकपथमा पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका–८ बगुवा र भन्याङडाँडा तथा बकैया गाउँपालिका–११ सिमात र घट्टेपाखामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
बीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोला, बुलढुङ्गा र मङ्गलटार खोलामा आएको बाढीले सडक कटान गरेकाले आवतजावत बन्द छ । कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरुणमा खसेको पहिरोका कारण गाडी चल्न सकेका छैनन् । यसैगरी पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ को घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण गाडी चल्न सकेका छैनन् ।
सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–६ र ७ को सीमानाको भङ्डारे खोलामा लेदोसहितको बाढी आएकाले आवतजावत पूर्ण रुपमा अबरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा पहिरोका कारण आवतजावत पूर्ण रूपमा अबरुद्ध भएको छ ।
पूर्वी पहाडलाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने द्रुतमार्ग तमोर करिडोर सडक विभिन्न ठाउँमा अवरुद्ध छ । यसैबीच काभ्रेको रोशी खोलाको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पुनःअस्थायी सडक–डाइभर्सन बनाउन शुरू गरिएको छ । दुई दिनको बाढीपछि रोशी खोलामा पानीको बहाव कम हुँदै गएपछि हिजोदेखि डाइभर्सन बनाउन शुरु गरिएको हो ।
डिभिजन सडक कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा खोला एकतर्फी फर्काएर पुनःडाइभर्सन बनाउन थालेको हो । सिन्धुलीबाट काभ्रेपलाञ्चोकतर्फको नमोबुद्धको चौकीडाँडासम्मको विभिन्न ठाउँमा सडक बगाउनुका साथै क्षतिग्रस्त भएपछि पूर्ण रुपमा राजमार्ग अवरुद्ध भएको छ । अहिले वैकल्पिक मार्गका रुपमा गाडी खुर्कोट–मन्थली हुँदै अरनिको राजमार्ग र सिन्धुली–हेटौँडा हुँदै काठमाण्डौ आवतजावत भइरहेका छन् ।






